रौतहट, १ मंसिर । लोकआस्थाको पर्व अर्थात सुर्यको उपासना गरेर मनाइने छठपर्व आज देखि विधिवत रुपमा सुरु भएको छ ।
कार्तिक शुल्क चतुर्थी तिथि देखि चार दिन सम्म चल्ने लोकआस्थाको पर्व शुक्रवार देखि सुरु भएको हो । नियम निष्ठा र विधि विधानका साथ मनाइने छठको पहिलो दिन आज नहाय खाय रहेको छ । व्रतालु महिला एवं पुरुषहरु स्नान गरी अरबा अरबाइन (चोखो) भोजन गर्ने गर्दछन् ।
घरपरिवार एवं सन्तानहरुको सुख समृद्धि एवं मानप्रतिष्ठाको कामना गर्दै भक्तिभाव एवं श्रद्धापूर्वक मनाइने दोश्रो दिन अर्थात भोली शनिवार ब्रतालुहरु दिनभरी उपवास बसी बेलुकी ब्रतालुले प्रसादको रुपमा चामल, सख्खर दुध मिसाइउको खिर बनाएर सुर्यको प्रसाद चढाएर त्यही भोजन गर्ने दिनलाई खरना भनिन्छ ।
खरनाको गरेर त्यसपछि उपवास बसी तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन हो । सो दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ । चौथा दिने (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत रुपमा समापन हुने गरिन्छ । छठको मुख्य दिन सरकारले सार्वजनिक विदा दिएको छ ।
छठ पर्वमा बाँसको ढकीया, छैठी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई अर्घको रुपमा चढाउने गरिन्छ ।
अर्घ दिन ब्रतालु ४८ घन्टा सम्म पानी समेत नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्यलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक बनाउनु पर्दछ ।
तराई मधेशपासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा व्यस्त छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारहरुमा घुइँचो लाग्ने गरेको छ ।
छठ पर्वका लागि तलाउ, पोखरी, नदी र खोला किनारहरु सफा गरेर सजाइएको छ । अहिले गाउँघर, सहर बजार, गल्लीमा गुञ्जिरहेको छठपर्वका सुमधुर गितबाट तराई मधेश नै छठमय बनेको छ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।