हत्या गरेर शव गाडिएको आशंकामा हरिवन प्रहरीले तबसुनको शव कब्रिस्तानबाट बाहिर निकाले

सर्लाही, २ मंसिर । सर्लाहीको हरिवनमा अचानक एक कब्रिस्तानमा गाडिएको युवतीको शव झिक्न प्रहरीहरु पुगेपछि स्थानीय बासिन्दाहरु भेला भएका थिए ।
हरिवन नगरपालिका वडा नम्वर ११ बालगंगा स्थित मुस्लिम बस्तीमा एक १७ बर्षिया युवतीलाई २६ गते नै हत्या गरेर नजिकैको कब्रिस्तानमा शवलाई गाडेको सुचना प्रहरीले पाएपछि उक्त कब्रिस्तानबाट मृतकको शव झिक्न प्रहरी पुगेपछि स्थानीयहरु भेला भएको थियो ।
स्थानीय जनप्रतिनिधिको उपस्थितिमा मुस्लिम समुदायलाई प्रहरीले राखेर छलफल गरेर भएको सहमती अनुसार अन्ततः शव झिक्ने सहमती भई घटनास्थलमै चिकित्सक बोलाएर शवको पोष्टपार्टम गरेर पुनः शवलाई त्यही गाड्ने छलफल भए ।
वडा नम्वर ११ का शेख इर्शादको १७ बर्षिया छोरी तबसुन खातुनको शव कार्तिक २६ गते कब्रिस्तानमा गाडेको शुक्रवार इलाका प्रहरी कार्यालय हरिवनलाई प्राप्त सुचना अनुसार आज विहान प्रहरी घटनास्थलमा पुगेको थियो ।
भएको सहमती अनुसार प्रादेशिक अस्पताल मलंगवाबाट पोष्टमार्टम गर्ने चिकित्सकलाई बोलाएर कब्रिस्तानमै पोष्टमार्टम गर्ने कुरा इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले बताए ।
प्राप्त सुचना अनुसार परिवारजनले नै तबसुनलाई हत्या गरेर शवलाई कब्रिस्तानमा गाडेको प्रहरी श्रोतले बताए । प्रहरी आएपछि मृतक युवतीको वुवा शेख इर्शाद र दाई शेख चाँद फरार भएपछि प्रहरीले खोजतलास जारी राखेको बताइएको छ ।
युवतीको हत्या गरेर शवलाई गाडेको आशंकामा प्रहरीले पोष्टमार्टमबाट हत्याको कारण खुलाई आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक गिरीले बताए । समाजिक सदभावमा कुनै खलल नपुगोस भन्दै व्यापक संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरेर मुस्लिम अगुवाहरुलाई सहमतीमा लिएर कब्रिस्तानबाट शव बाहिर निकालिएको जानकारी दिए ।