मलेनिया गाउँबाट अबैध स्वचालित हतियार बरामद, सशस्त्र प्रहरी आफैले हतियार राखेर निर्दोषलाई फसाउने षड्यन्त्र रचेः स्थानीयको गम्भीर आरोप

   ४ मंसिर २०८०, सोमबार १६:३७  

रौतहट, ४ मंसिर । यमुनामाई गाउँपालिका वडा नम्वर ३ मलेनिया गाउँको एक जनाको घरबाट शनिवार नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले मेडइन युएसए लेखिएको  स्वचालित पेस्तोल गरी चार थान अबैध हतियार तथा गोलीहरु बरामद गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्तीमा यमुनामाई गापाको मलेनिया स्थित रहेको फुसको सानो कच्ची घर भित्र अबैध हातहतियार लुकाई छिपाई राखेको सुचना प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त स्थानबाट युएसए लेखिएको दुई थान पेस्तोल, अटोमेटिक पेस्तोल १ थान, लामो नाल भएको एयरगन एक थान, ७.६५ एमएमको गोली १३ थान, पेस्तोलको खाली म्याग्जीन ६ थान, मोवाइल २ थान, घडी एक थान, सिमकार्ड चार थान, पेनड्राइभ एक थान, शेख एजाज अहमदको नागरिकता एक थान बरामद भएका हुन् ।
बरामद भएका अबैध हातहतियारलाई इलाका प्रहरी कार्यालय गरुडामा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले जानकारी दिए ।
सशस्त्र प्रहरीको कार्यशैलीबाट स्थानीयहरु आक्रोशित
सशस्त्र प्रहरीको यातनाको शिकार बनेकी महिलाले घाउ देखाउदै
मलेनियाका महिलाहरुका अनुसार शनिवार दिउसो २ बजेको समयमा दुई वटा बाइकमा सशस्त्र प्रहरीको घुमुवा आएर शेख बैतुल्लाहको फुसको कच्ची जसको चारैतिरबाट प्वाल रहेको घरमा प्रवेश गरेर झोलामा ल्याएका हतियार राखेर फोटो र भिडियो बनाउदै गर्दा स्थानीय बासिन्दाहरुले विरोध जनाएपछि अवस्था गम्भीर बने ।
शेख बैतुल्लाहको भारतमा रहेका आफन्त वितेपछि त्यस तर्फ परिवार सहित गएको र घरमा ताला लागेको अवस्था थियो । अर्को तर्फ फुसको कच्ची साना घरमा अबैध हतियार र गोली कसरी राख्न सकिन्छ भन्दै सकिना खातुनले टोल छिमेकका मानिसहरु भेला भएर सशस्त्र प्रहरीको कार्यशैली प्रति प्रश्न चिन्ह खडा गरेपछि हामीहरुलाई कुटपिट गर्ने धम्काउन थाल्दा विस्तारै सयौं गाउँलेहरु उक्त स्थानमा भेला भएपछि सशस्त्र प्रहरीले लाठी चार्ज गर्दा करिव एक दर्जन भन्दा महिलाहरुलाई कुटपिटको शिकार भएको उनले बताइन् ।
केही महिलाले लगाएको कुर्ता, सुरुवाल समेत च्यातीदिएको, सल खोसिदिएको गम्भीर आरोप सशस्त्र प्रहरी माथि लगाउदै अर्की महिला अनवारी खातुनले हुँदै नभएको घटनालाई सशस्त्र प्रहरीद्धारा काल्पनिक बनाएर आफैले ल्याएको हातहतियार गोली राखेर बैतुल्लाहलाई फसाउने षड्यन्त्र गर्ने कार्यको विरोध गर्दा महिला लगायत पुरुषहरु ज्यादतीको शिकार बन्नु भएको गुनासो उनले पोखिन ।
अबुल कलामले घुमुवा ल्याएको ब्यागबाट हातहतियार झिकेर खाटमा राखेर फसाउने कार्य गरेको आरोप लगाए । प्रहरीले शान्ति सुरक्षा बहाल गर्नुको साटो उल्टो मानिसलाई फसाउने खेल भएको हुँदा यस्ता प्रवृति विरुद्ध सम्बध निकायको ध्यानाकर्षण गराइदिन संचारकर्मीको काँधमा जिम्मेवारी आएको हुँदा यहाँ भएको अन्याय अत्याचारको उजागर गरिदिनहुन आग्रह गरे ।
सविना खातुनले महिलालाई लौरो प्रहार गरेर घाउ लगाउने, लगाएको लुगा च्यातिदिने, महिलाको पिठ्युमा टियरग्यास हानिदिने जस्ता कार्यबाट आफू लगायत यहाँका महिलाहरु निकै त्रसित बनेको बताउदै हाम्रो लुगा फुकाल्न श्रीमानले इजाजत लिनुपर्ने हुन्छ तर हिजो जुन पाराले हामीहरु माथि हात हालियो त्यसता कार्यको विरुद्धमा प्रदर्शन गर्ने चेतावनी दिए । यदी सम्बन्धित निकायले अनुसन्धान गरेर हामीहरु माथि अभद्र व्यवहार गर्ने घुमुवा तथा सशस्त्र प्रहरीलाई कारवाही नगरिए चाडै चक्का जाम लगायतको प्रदर्शनमा उत्रिने समेत उनले बताइन् ।
यस विषयमा यमुनामाई गाउँपालिकाको अध्यक्ष शेख इर्शादले हिजोको घटना सम्बन्धमा जति निन्दा गरेमा कमै हुने बताउदै सशस्त्र प्रहरीबाट पालिकाबासी त्यसमा पनि महिला माथि भएको अत्याचारको विरुद्ध भोली नै जिल्ला प्रशासन कार्यालय गौरमा डेलिगेशन लिएर जाने बताए ।
गाउँमा एकदमै सज्जन प्रकृतिका व्यक्तिको रुपमा चिनिएको बैतुल्लाहलाई फसाउने कुनै ठूलै षड्यन्त्र भएको दाबी गर्दै यस्ता घटनाहरुबाट समाजमा अस्थिरता उत्पन्न गराउन सक्ने बताए ।
विशेष सुत्रका अनुसार उक्त गाउँमा हातहतियारको खरिदविक्री भईरहेको खवर माथिल्लो स्तरबाट आएपछि त्यस स्थानमा सर्चगर्दा बरामद भएको कुरालाई झुठो भन्ने गलतप्रचारवाजी गराउनेहरु नै त्यस्ता कार्यमा संलिप्त रहेको हुँदा प्रहरीले गरिरहेको थप अनुसन्धान पछि दोषि पाइने सबैलाई कानुनको दायरामा ल्याएर यो जिल्लामा शान्ति स्थापना गराउने कार्यमा सधै सशस्त्र प्रहरी कटिबद्ध रहेका छौं ।
फोटो फिचर

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै