तराई टप संवाददाता
रौतहट, २१ साउन । रौतहटको १८ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहको बजेट पारित नहुदा कार्यक्रम प्रभावित भएको छ ।
तोकिएको समयमा रौतहटको तिन वटा नगरपालिकाले बजेट ल्याउन सकेन भने ३ वटा पालिका बजेट ल्याएपनि बजेट पारित हुन नसक्दा ति स्थानीय तहको कार्यक्रम प्रभावित भएको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार रौतहटको गरुडा, बौधीमाई र देवाही–गोनाही नगरपालिकाले तोकिएको समय भित्र बजेट ल्याउन सकेनन् भने ईशनाथ, फतुवा विजयपुर, वृन्दावन नगरपालिकाले बजेट ल्याएपनि बजेट पारित सकेनन् । चालु आर्थिक वर्ष २०७८÷७९ को लागि स्थानीय तहले अनिवार्य रुपमा आर्थिक बर्ष सकिनु अघि अर्थात असार १ गते देखि १० गते भित्र बजेट ल्याउनु पर्ने कानुनी प्रावधान रहेका छन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले असार १० गते भित्र बजेट ल्याउनुपर्ने र साउन लाग्नु अगावै पास गरिसक्नु पर्ने कानूनी व्यवस्था छ । बजेट पारित नभएपछि ती स्थानीय तहले साउन महिना देखि बजेट कार्यान्वयन गर्न सकेका छैनन । नगरसभा बाट बजेट पारित नभए पछि नयाँ आर्थिक वर्षका लागि सञ्चित कोषबाट रकम खर्च गर्न नमिल्दा कार्यक्रम प्रभाबित हुदै आएको छ । चालु आर्थिक बर्षको बजेट स्थानीय जनप्रतिनिधिहरुको कार्यकालको अन्तिम बजेट रहेको छ ।