भेरोसिल खोप दुई चरणमा र विदेश जानेलाई जोनसनको खोप संचालन भोलि देखि

   २१ श्रावण २०७८, बिहीबार १७:३७  

तराई टप संवाददाता
रौतहट, २१ साउन । जिल्ला प्रशासन कार्यालय रौतहटमा कोभिड व्यवस्थापन समितिको बसेको बैठकबाट ५४ बर्ष उमेर समुहका लागि २ चरणमा खोप अभियान साउन २५ गते देखि संचालन हुने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा विहिवार बसेको कोभिड खोप व्यवस्थापन समितिको बैठकमा ५४ बर्ष वा सो उमेर माथिका पहिलो खोप लिन बाँकी रहेका सम्पूर्ण नागरिकहरु, विश्वविद्यालय, विद्यालयमा कार्यरत प्रध्यापक शिक्षक कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक सह चालकहरु तथा नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्नहरुलाई अनिवार्य रुपमा भेरोसिलको खोप लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो ।
वैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरुलाई पासपोर्ट वा भिसाको फोटोकपी लिएर साउन २२ देखि २९ गते सम्म जोन्सनको खोप लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
भेरोसिलको पहिलो चरण साउन २५ देखि २७ सम्ममा चन्द्रपुर अन्तर्गत ६ वटा खोप केन्द्र, गुजरामा ५ वटा खोप केन्द्र, वृन्दावनमा ५ खोप केन्द्र, फतुवा विजयपुरमा ५ वटा खोप केन्द्र, कटहरियामा ६ वटा खोप केन्द्र, गरुडामा ९ वटा खोप केन्द्र, गढीमाईमा ६ वटा खोप केन्द्र, मौलापुरमा ४ वटा खोप केन्द्र, देवाही गोनाहीमा ५ वटा खोप केन्द्रमा गई उक्त उमेर समुहका नेपाली नागरिकहरु अनिवार्य रुपमा खोप लगाउन आग्रह उनले गरे ।
यसैगरी साउन ३० देखि ३२ गते सम्म दोश्रो चरण अन्तर्गत गौरमा ९ वटा खोप केन्द्र, राजदेवीमा ७ वटा खोप केन्द्र, इशनाथमा ६, राजपुरमा ५, परोहामा ६, बौधीमाईमा ५, माधवनारायणमा ८ तथा दुर्गा भगवतीमा ५ र यमुनामाई गाँउपालिकामा ५ वटा खोप केन्द्र निर्धारण गरिएको हुदा उक्त खोप केन्द्रमा गई भेरोसिल खोप लगाउने निर्णय भएको प्रजिअ यादवले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै