प्रहरी समायोजन, निजामती ऐन कार्यान्वयन लगायतका ६ बुँदे माग राख्दै मुख्यमन्त्री सरोज यादव सहितका मन्त्रिहरुद्धारा प्रधानमन्त्री दहाल संग भेटघाँट

   २४ मंसिर २०८०, आईतवार १६:४२  

रौतहट, २४ मंसिर । मधेश प्रदेश मुख्यमन्त्रीको नेतृत्वमा मधेश सरकारको मन्त्री स्तरिय टोलीले प्रधानमन्त्री पुष्पकमल दहाल संग विशेष भेट गर्दै संविधानमा व्यवस्था भए बमोजिमका कानुनहरु छिटो निर्माण गरेर कार्यान्वयन ध्यानाकर्षण गराएको छ ।
मुख्यमन्त्री सरोज कुमार यादवको नेतृत्वमा भौतिक पूर्वाधार विकास मन्त्री तथा नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव सहित सम्मिलित टोलीले आइतबार बिहान प्रधानमन्त्री दहाललाई भेटेर ध्यानाकर्षण गराएको हो ।
मुख्यमन्त्री यादवले एक महिना भित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न आफूहरुले प्रधानमन्त्री संग अन्तिम पटक डेट लाइन दिएकोमा सो अवधि पूरा भइसकेकोमा अब संघर्षमा जानु बाहेक अन्य कुनै विकल्प नरेको बताए ।
प्रहरी समायोजन, निजामती ऐन कार्यान्वयन लगायतका ६ बुँदे माग राख्दै मधेश सरकारले कार्तिक २३ गते एक महिने डेटलाईन सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो । केन्द्र सरकारलाई दबाब दिन मधेश प्रदेशसभाबाट पारित संकल्प प्रस्ताव सहित मुख्यमन्त्री यादव सहितको मधेश प्रदेश सरकारको टोली प्रधानमन्त्री दहाललाई भेट्न आज बिहान बालुवाटार निवास पुगेका थिए ।
एक महिनाभित्र प्रदेश प्रहरी समायोजन, निजामती सेवा ऐन लगायत कार्यान्वयन गरिसक्न दिएको अल्टिमेटम सकिएकाले आफूहरू अब संघर्षमा जाने बाहेक अन्य कुनै विकल्प नरहेको प्रधानमन्त्रीलाई भनेको मुख्यमन्त्री सरोजकुमार यादवले बताएको विभिन्न अनलाइन छापाहरुमा समाचारलाई प्रमुखताका साथ स्थान दिएको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डले संघर्षका कार्यक्रमलाई थाँती राखेर संघीयता कार्यान्वयन प्रभावकारी बनाउन आह्वान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले संघीयताको जन्मदाता नै आफू र आफ्नो पार्टी माओवादी केन्द्र भएको भन्दै संघीय कानुनहरू निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएको श्रोतले बतायो ।
प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयन प्रभावकारी बनाउन मधेश सरकारका प्रतिनिधिहरुलाई आ–आफ्नो पार्टीमा पनि पहल बढाउन आग्रह गरेका थिए । ‘सरकारले संघीयता सम्बन्धी विधेयकहरू अगाडि बढाइसकेको छ । तर, त्यसको अन्तिम फैसला संसदले गर्नुपर्छ । त्यसका लागिसमेत तपाईं–हाम्रो संयुक्त पहल जरूरी छ । त्यसैले अहिले संघर्षका कार्यक्रमलाई थाँती राखेर थप पहलमा केन्द्रित हुन उनले आग्रह गरे ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै