तराई टप संवाददाता
रौतहट, २५ साउन । चन्द्रपुर नगरपालिकाको नुनथर स्थित बागमती सिंचाई आयोजनाको नहरमा सोमवार विहान एक बोलेरो पिकअप भ्यान खसेर दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु भएको छ भने १ जना वेपत्ता, १८ जनालाई सकुशल उद्धार गरिएका छन् ।
बाराको काँसघाट स्थित महादेव मन्दिरमा जल चढाउनको लागि रौतहटको चन्द्रपुर नगरपालिका १ नुनथर स्थित वागमती नदीबाट आज विहान जल लिएर फर्किदै गरेका ना.५च. ३१६६ जम्वरको बोलेरो जिप अनियन्त्रित भई वागमती सिंचाई आयोजनाको पश्चिमी नहरको ५० फिट तल खसेर दुर्घटना भएका हुन् ।
अनियन्त्रित भई नहरमा श्रद्धालुहरु बोकेको उक्त बोलेरो नहरमा खस्दा घटना स्थलमै बारा जिल्ला गढिमाई नगरपालिकाको ४५ बर्षिया मिना देवी कोइरीको मृत्यु भएको जानकारी दिदै इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी लिलाराज लामिछानेले बारा बोधिवन नगरपालिकाको ६५ बर्षिया सुनरी देवी मुखिया वेपत्ता भएको जानकारी दिए ।
दुघर्टनामा भए लगतै स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरु १८ जना श्रद्धालुलाई उद्धार गरेको छ । घाईतेहरु मध्ये पाँच जनाको चन्द्रनिगाहपुर हस्पिटलमा उपचार भैरहेको छ । दुर्घटनामा परेर वेपत्ता भएको ६५ बर्षिया महिलाको खोजी कार्यमा प्रहरी संगै स्थानीय बासिन्दाहरु जुटेको छ । वागमती सिंचाई आयोजनाको पश्चिमी मुल नहरमा पानीको वहाव उच्च रहेको हुँदा पानीमा बगाएर महिलालाई वेपत्ता बनाएको हुँदा खोजी कार्यमा नेपाली सेनाको पनि सहयोग लिने कार्य भईरहेको डिएसपी लामिछानेले बताए ।