तराई टप संवाददाता
काठमाडौं, २५ साउन । नेपाली सेनाको प्रधान सेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथि प्रभुराम शर्मालाई संगठनको जिम्मेवारी सोमवार हस्तान्तरण गरेका छन् ।
सैनिक मुख्यालय जंगी अडामा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड हस्तान्तरण गरी बुझ बुझारत गरेका हुन् । प्रधानसेनापति थापा सेवानिवृत हुन लाग्दा नेपाल सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मंगलवार देखि लागु हुने गरी कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी तोकिसकेपछि सेनाको परम्परा अनुसार सेवानिवृत हुनु भन्दा १ महिना अघि घर विदामा बस्ने चलन रहेको छ ।
घरविदामा जानु अघि थापा तिन बर्षे कार्यकाल पुरा गर्दै शर्मालाई सेनाको कमाण्ड हस्तान्तरण गरे । कायममुकायम जिम्मेवारी तोकिएका शर्माले भदौ २५ गतेदेखि नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा सैनिक नेतृत्व सम्हाल्नेछन् । स्वदेशमा सबै व्यावसायिक तालिम प्राप्त बलाधिकृतरथी शर्मा भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् ।
सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहेका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार रहेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।