शिक्षा ऐनलाई बेवास्ता गर्दै जुमावीले विद्यार्थीहरु संग शुल्क उठाउदै

   ३२ श्रावण २०७८, सोमबार १७:४८  

तराई टप संवाददाता
रौतहट, ३२ साउन । सहज एवं सर्वसुलभ ढंगबाट शिक्षामा सबै वर्गको पहुँच होस भन्ने उद्देश्यबाट माध्यमिक सम्म शिक्षालाई निशुल्क गरिएको छ, तर उक्त शिक्षा ऐनलाई बेवास्ता गर्दै जुद्ध माध्यमिक विद्यालय गौरले छात्रछत्राबाट चर्को शुल्क असुल गरिरहदा पनि सम्बन्धित निकाय मौन रहेका छन् ।
शिक्षा नियमावल २०७७ मा सामुदायिक विद्यालयले माध्यमिक तह सम्मको शिक्षामा कुनै पनि बहानामा शुल्क लिन नपाउने प्रष्ट रुपमा उल्लेख गरेको छ । तर रौतहट सदरमुकाम गौरमा रहेको एवं मुलुकै जेठो मध्येको चौथो विद्यालयको रुपमा रहेका जुद्ध माध्यमिक विद्यालय प्रशासनले छात्रछात्राहरुबाट गैर कानुनी रुपमा चर्को शुल्क उठाउने गरेपनि सम्बन्धित निकाय मौन रहेको पाइएको हो ।
एउटै विद्यालयमा दुई थरीको शिक्षा प्रदान गरिरहेको छ । नेपाली माध्यममा अध्ययन गर्ने विद्यार्थीहरुलाई निशुल्क र अंग्रेजी माध्यममा अध्ययन गर्ने विद्यालय झै चर्को मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तकको शुल्क उठाइरहदा विद्यार्थी र तिनका अभिभावकहरुले आवाज उठाउदा पनि सम्बन्धित निकाय उदाशिन रहेको गुनासो अभिभावकहरुले गरेका छन् ।
धनी र गरिव भनेर सामुदायिक विद्यालयमा छुट्याउदा नेपाल सरकारको शिक्षा नितिलाई धोती लगाईरहदा जुद्ध मावीका विद्यालय प्रशासन विरुद्ध स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयबाट कुनै किसिमको कारवाही प्रक्रिया अगाडी नबढाउदा सामुदायिक विद्यालयमा विद्यार्थीहरु ठगिन बाध्य भएको अभिभावकहरुको कथन छ । एउटै भवन भित्र दुई किसिमको पठनपाठन र शिक्षा नियमावलीको खिल्ली उडाउदै मासिक शुल्क सहितको विद्यालय संचालन हुदा समेत सम्बन्धीत निकायले वेवास्ता गरेको स्थानियको आरोप छ । विद्यालयले नयाँ भर्ना हुन गएका विद्यार्थीहरुबाट यस शैक्षिक सत्रमा नामांकनको तिन सय, मासिक शुल्क सात सय, परिचय पत्र कार्डको १ सय २० र परीक्षा शुल्क एक सय रुपैंयाका दरले रकम उठाएको छ ।
कक्षा ९ मा नयाँ भर्ना भएका विद्यार्थीबाट एकमुष्ठ २ हजार ७ सय २० रुपैंया लिएको विद्यालय प्रशासनले कक्षा अनुसार शुल्क निर्धारण गरेको छ । समुदयमा रहेका सार्वजनिक विद्यालयहरुले शिक्षा नियमावलीको विरुद्ध विद्यार्थीबाट शुल्क उठाउन थाले पछि विभिन्न विद्यार्थी सँगठनहरुले सो कार्यको विरोध गर्दै आएका छन् ।
जुद्ध उच्च माध्यमिक विद्यालयले अग्रेंजी माध्यमको बहानामा सरकारी विद्यालय भित्रै अर्को एक विद्यालय खडा गरेर विद्यार्थी बाट शुल्क उठाएको भेट्टिएको छ । अनेरास्वयूका केन्द्रीय सचिवालय सदस्य रवि मिश्रले नियम विपरीत शुल्क उठाउदा समेत सम्बन्धीत निकाय मौन भएर बस्नु एकदमै हास्यापद रहेको छ । सरकारले भनेको अनिवार्य निशुल्क शिक्षाको जुद्ध विद्यालयले उपेक्षा गरेकोमा विद्यार्थी सँगठनहरुले यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ध्यानाकर्षण पत्र समेत बुझाएको उनले भने ।

विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुदा आफुहरु समस्यामा परेको जुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्देश्वर राउतले बताए । विद्यार्थी सँख्या अत्याधिक भएको र शिक्षक दरबन्दी कम भए पछि विद्यालयले आफ्नै श्रोतमा अग्रेंजी माध्यमको कक्षा संचालन गरेको र सोही अनुरुप तिन सय देखी सात सय सम्म शुल्क तोकिएको प्रधानाध्यापक राउतले बताए । अग्रेंजी माध्यममा पठनपाठन गराउने शिक्षकहरुको तलब समेत न्यून रहेको उनले बताए ।
गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताद्धारा २०७७ कार्तिक १४ गते हस्ताक्षरित पत्रमा कुनैपनि बहानामा सामुदायिक विद्यालयले शुल्क नलिने यदी लिएमा शिक्षा ऐन अनुसार कारवाही हुने स्पष्ट रुपमा पत्राचार भएको देखिन्छ तर विद्यार्थी र अभिभावकहरुले विरोध गर्दा समेत कथनी र करनीमा धेरै फरक रहेको उनीहरुको आरोप छ ।
गौर नगरपालिकामा शिक्षा संयोजक बनेर बसेका गणेश गिरीलाई कयौं पटक विद्यार्थीहरु र अभिभावकहरु लिखित एवं मौखिक रुपमा गुनासो व्यक्त गर्दा पनि कानमा तेल हालेर सुतेको आरोप स्थानीयले लगाए । शिक्षामा आमूल परिवर्तन गर्न नेपाल सरकार लागि परेको भएपनि गिरी जस्ता राष्ट्रसेवक कर्मचारीको कारण निशुल्क शिक्षामा बाध्यताबस शुल्क तिर्नु परेको छ जस्को सुनवाई स्थानीय तह तथा जिल्ला प्रशासनले गरेका आरोप विद्यार्थी नेता मिश्रले गम्भीर आरोप लगाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै