वागमती र बकैया सहितका खोलाहरुमा पानीको बहाव उच्च, सुरक्षित रहन प्रजिअ यादवको आग्रह

   ११ भाद्र २०७८, शुक्रबार १९:०७  

तराई टप संवाददाता
रौतहट, ११ भदौं । केही दिन देखि भईरहेको निरन्तरको बर्षाबाट रौतहट जिल्लाको तटिय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् ।
चुरे भन्दा माथिल्लो रेन्ज तथा तराई क्षेत्रमा भईरहेको भारी बर्षाबाट वागमती र लालबकैया सहितका विभिन्न नदीहरु खतराको भन्दा बढि पानी बगिरहदा यहाँको तटिय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण जनताहरु खोला किनारमा नगई सुरक्षित रुपमा रहन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आग्रह गरेका हुन् ।
हाल बागमतीको पधेरादोभान ९ कर्मैया जलमापन केन्द्रमा जलसतह खतराको तह पार गरेको र बढ्दो क्रममा रहेको हुँदा रौतहट र सर्लाही जिल्लाको बागमती नदी तटिय क्षेत्रका बासिन्दालाई सर्तक रहन स्थानीय प्रशासनले सचेत गराएको छ ।
वाग्मती, बकैया, चादी, झाझ, भकुवा, तरहरी लगायतका खोलामा पानीको सतह उच्च हुदै गएकाले तटिय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको तथा उक्त खोलाहरुबाट हुने जोखिमलाई कम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई तयारी अवस्थामा राखिएको जानकारी प्रजिअ यादवले दिए ।
वागमती नदीमा झाझ खोलाको पानी जान नसक्दा दुर्गा भगवतीको पचरुखी, छतौना, बडहर्वा,पिपरा, यमुना माईको सरुअठा, भेडियाही, जेठरहियाको धान खेतहरु सवै डुवानमा परेको छ । लहलहाउदै गरेको धान बाली सबै अहिले डुवानमा परेपछि किसानहरुको चिन्ता बढेको छ । पानी पर्ने क्रम जारी रहेको हुँदा बाढीको खतरा बढेका छन् ।
बर्षाको कारण विभिन्न पालिकामा खपडा, फुसको छाना भएको घरहरु भत्किएको छ । दुर्गा भगवती गाउँपालिका ३ मा खपडाको छाना भएको घर भत्किदा करिव ६ लाख भन्दा बढिको क्षति भएको पिडित पक्षले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै