रौतहट, २८ माघ । इटाभट्टामा जिउँदै मानिसलाई जलाएको घटनामा आरोपित रहेका नेपाली काँग्रेसका नेता मोहम्मद आफताव आलम विरुद्धको मुद्दामा आईतवार रौतहट अदालतमा अन्तिम सुनुवाई अहिले सम्म सुरु भएको छैनन् ।
मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतको १ नम्वर इजलासको न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको भएपनि ४ नम्वरमा रहेको हुँदा अहिले सम्म सुनुवाई सुरु भएको छैनन् ।
२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको अभियोग नेता आलम माथि लागेको छ । आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै रहेका छन् ।
आलम विरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि गत पुस २९ गते हुने भनेर दिन तोकिए पनि धेरैजसो न्यायाधीश बिदामा बसेको भन्दै सो दिन पेसीमा चढेको थिएन ।
गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीरता र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्रीसमेत रहेका आलममाथि लागेको छ ।
रौतहट जिल्ला अदालतको एक नम्वर इजलासमा परेको पेसीमा चौथो नम्वरमा रहेको आलमको मुद्दा सम्भवतः आज समय अभावको कारण नहुने अर्को दिन तोकिने अदालत श्रोतबाट बुझिएको छ ।