जनकपुरधाम, ६ फागुन । मधेश प्रदेश सरकारले आज आईतवार विश्वासको मत लिने तयारीमा जुटेका छन् ।
मधेश प्रदेश सरकारबाट गत माघ ९ गते जनमत पार्टीका दुई जना मन्त्रीले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारीमा जुटेका हुन् ।
विश्वासको मत लिनको लागि आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका निमित्त सचिव अरुण कुमार झाले जानकारी दिए । मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने भनेर मधेश प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाएका थिए ।
जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री बनेयता यादवले विश्वासको मत लिन लागेको यो तेस्रो पटक रहेको बताइएको छ ।
मधेशमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन चाहिन्छ । जसपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थन रहेकाले उनी सहज अवस्थामा छन् ।
नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । यी सबैले विश्वासको मत दिए भने मुख्यमन्त्रीको पक्षमा ६५ मत पुग्छ ।
मधेशको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ र जनमत पार्टीका १३ सांसद छन् । राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १÷१ सांसद छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट