काठमाडौं, २५ असोज । सरकार संग ८ बुंदे सहमती पछि १९ औं पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीले अमरण अनशन तोडेका छन् ।
शनिबार राति नेपाल सरकारको प्रतिनिधिहरु संग स्वास्थ्य क्षेत्रमा परिवर्तन सहितको ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।
डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडे । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका व्यक्ति हुन् । चिकित्सा शिक्षामा सुधारको बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए ।
उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा राखिएको थियो । अस्पताल परिसरमा अनशन तोडिदै गर्दा केसीका समर्थकहरुले ‘फेरि आमरण अनशन बस्न नपरोस’ लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए । डा. केसीसँग भएका सम्झौताहरु कार्यान्वयन हुनुपर्ने र सम्झौतामा धोका हुन नहुने उनीहरुको भनाइ थियो ।