रौतहट, ७ फागुन । सीमापारी भारतबाट अबैध रुपमा नेपाल भित्रयाइएको ब्रोइलर कुखुरालाई सोमवार जिल्ला प्रहरी कार्यालय रौतहटमा नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा आज विहान साढे ९ बजेको समयमा इप्रका कोपवाबाट खटिएको प्रहरी गस्ती टोलीले परोहा नगरपालिका वडा नम्वर ६ हवारी चोक नजिकै चार वटा साइकलमा ब्रोइलर कुखुरा बेवारिसे अवस्थामा नियन्त्रणमा लिए ।
प्रहरी गस्ती टोलीलाई देख्नासाथ कुखुरा ओसार्ने भरिया साइकल छाडेर भागेपछि प्रहरीले बेवारिसे अवस्थामा ६० थान (१२० किलोग्राम) कुखुरालाई सहित साइकल बरामद गरेको बताइएको छ । बरामद गरिएका भारतीय ब्रोइलर कुखुरालाई जिल्ला प्रहरी कार्यालय रौतहटको कम्पाउण्डमा खाल्डोमा पुरेर स्थानीय भद्रभलादमीको रोहवरमा नष्ट गरिएको डिएसपी गिरीले जानकारी दिइन् ।
बरामद गरिएका कुखुराको अन्दाजी मूल्य ३८ हजार ४ सय रहेको तथा कुखुरा छाडेर भाग्ने व्यक्तिको खोजी कार्य भईरहेको उनले भनिन् ।