गत तिन दिन देखि बाटोमै अलपत्र रहेका सरस्वतीको मुर्ती अन्ततः उच्च सुरक्षा अधिकारीको उपस्थितिमा सेलाइयो

   ७ फाल्गुन २०८०, सोमबार १६:०२  

रौतहट, ७ फागुन । रौतहटको इशनाथ नगरपालिकामा गत तिन दिन देखि बाटोमै अलपत्र अवस्थामा रहेका सरस्वतीको मुर्तीलाई अन्ततः उच्च सुरक्षा अधिकारीहरुको उपस्थितिमा सोमवार दिउसो सेलाइएका छन् ।
इशनाथ नगरपालिकाको वडा नम्वर ७ घिउरा टोलमा बसन्तपञ्चमीको दिन पुजा गरिएका सरस्वतीको मुर्तीलाई गत शनिवार बाजागाँजाको साथ सेलाउन जाँदा अर्को समुदायका मानिसहरु बाटो अवरुद्ध गरेर ढुंगामुढा गर्न थालेपछि दोहोरो झड्प भएपछि अवस्था तनावपूर्ण हुँदा स्थानीय प्रशासनले इशनाथ नपाको वडा नम्वर २ देखि ७ सम्म कर्फयु लगाएको थियो ।
सरस्वतीको मुर्ती सेलाउन हिडेका जुलुस झड्पको कारण बाटोमै अलपत्र परेका सरस्वतीको मुर्तीलाई सेलाउन हिजो राति देखि पटक पटक बसेको सर्व पक्षिय एवं सर्वदलिय बैठक भएका थिए । उक्त बैठकमा पहिलो मुर्तीलाई सेलाएर स्थानीय बुद्धिजीवि र राजनीतिक दलका प्रतिनिधिहरु संग छलफल गरेर उक्त गाउँमा सदभाव रयाली निकालेर शान्ति सुव्यवस्था कायम गराउने भएको सहमती पश्चात सोमवार दिउसो सरस्वतीको मुर्तीलाई सेलाइएका छन् ।
रौतहट क्षेत्र नम्वर २ का संघिय साँसद किरण साह, नेपाल प्रहरीका डिआजी यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरीका डिआइजी दिपेन्द्र शाह, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश प्रमुख संजय यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, एसपी महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र एसपी माधव रेग्मी, प्रदेश सदस्य जयद राजा सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, बुद्धिजीविहरुको उपस्थितिमा सरस्वतीको मुर्तीलाई विसर्जन गरिएका छन् ।
तर अहिले सम्म उक्त क्षेत्रमा लगाइएको कर्फयु हटाइएको छैन् । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले इशनाथको सम्बन्धित वडाहरुमा सामाजिक सदभाव कायम भएपछि मात्रै कर्फयु हटाउने उनले स्पष्ट पारिन् । डिएसपी गिरीले दुबै समुदायका मानिसहरु एक आपसमा शान्ति सदभाव कायम गरेर सामान्य जनजीवन विताउनुपर्ने अपिल गर्दै अशान्तिबाट कसैको भलो हुन नसक्ने भएकोमा सबै पक्षलाई शान्ति, सदभाव, भाईचारा र अमनचयन कायम गर्नुपर्ने सुझाव दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै