वीरगञ्जमा आज साँझ ५ बजे देखि कर्फयु लग्यो

   ७ फाल्गुन २०८०, सोमबार १७:२६  

पर्सा, ७ फागुन । रौतहटको विषयलाई लिएर वीरगञ्जमा हिन्दुबादी संघसंस्थाहरुको प्रदर्शनको क्रममा झड्पलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले सोमवार साँझ ५ बजे देखि अर्को आदेश नआउन्जेल सम्मको लागि कर्फयु आदेश जारी गरेका छन् ।
आज दिउसो देखि हिन्दुवादी संघसंस्थाहरुले वीरगञ्जमा प्रदर्शन गर्दै बजार बन्द गराउन खोज्दा प्रदर्शनकारी र प्रहरी बीच ठाँउ ठाँउमा झड्प हुँदा यतिखेर पर्सा सदरमुकाम वीरगञ्जमा अवस्था उग्र बन्दै गएपछि कर्फयु आदेश जारी गरेका हुन् ।
गत फागुन ३ गते रौतहटको इशनाथ नगरपालिकाको मोतिपुर र फागुन ५ गते सोही नगरपालिकाको घिउरामा सरस्वतीको मुर्ती सेलाउने विषयलाई लिएर दुई समुदाय बीच भएको झड्पलाई लिएर वीरगञ्जमा हिन्दुवादी संघसंस्थाहरु प्रदर्शनमा उत्रिएर बजार बन्द गराउदै हिडेपछि प्रहरी संग झड्प भएको छ ।
विरोध प्रदर्शनको क्रममा सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम र शान्ति भंग हुन जाने अवस्थालाई मध्यनजर राख्दै महानगरपालिका भित्रको तपसिलको क्षेत्रमा आज साँझ ५ बजे देखि कर्फयु आदेश जारी गरिएका छन् । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम पूर्वमा नगवा चोक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा, दक्षिणमा मितेरीपुल (भन्सार क्षेत्र) सम्म कर्फयु लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी गरिएको प्रेस नोटमा भनिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित कर्फयु आदेशमा तपसिल बमोजिमको सिमा क्षेत्र भित्र कसैले आवत जावत गर्न, भेला हुन, बाहिर हिडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ रयाली गर्न एवं अन्य कुनै उच्श्रृंखल गतिविधि गर्न नपाउने उक्त कर्फयु आदेशको बर्खिलाप गर्नेलाई कानुन बमोजिम कडा कारवाही गरिने चेतावनी दिइएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै