प्रभातकुमार झा
जातिगत द्वन्द, धार्मिक सदभावमा खलल पुर्याएर समाजमा अशान्ति मचाउने कुतत्वहरुको जालझेललाई चिर्दै आधुनिक विश्वको परिवेशमा उभिनु आजको आवश्यक्ता रहेको छ ।
जातिगत द्वन्द, धार्मिक सदभावको वर्खिलाप गर्ने, द्वन्द फैलाई सम्प्रदायिक्ता मचाउने तत्वहरु सलवलाईरहदा तिनीहरुलाई झापड हानी सबै समुदायको धार्मिक स्वतन्त्रतालाई त्यती नै महत्व दिई एक अर्काको पर्व, खुशीमा सहभागी हुनु पर्ने अवस्थामा सामाजिक द्वन्दमा नफस्न समस्त आम नागरिक संग हार्दिक अपिल छ ।
नेपाल जस्तो धर्म निरपेक्ष राष्ट्रमा धार्मिक मान्यता विरुद्ध एकले अर्का विरुद्ध षड्यन्त्र गरेर समाजमा बस्नेहरु आपसमा झै झगडा, मरणासन्न हुने गरी धार्मिक सदभावलाई विथोल्ने कार्यहरु भईरहदा निकै दुखद कुरा हो, हामी कहाँ छौं, कसलाई खुशी पार्दै छौं यति विचार गरेमा यस्ता कुराहरुको अन्त्य हुने छ ।
दुर्गा पुजा, सरस्वती पुजा, विश्वकर्मा पुजा, दहा, मोहरम्म, लगायतका धार्मिक कार्यक्रममा दुबै समुदायहरु एक अर्काको धार्मिकता माथि आँच नपुर्याएर हातेमालो गर्दै अघि बढेमा मात्रै विश्वको दाँजोमा हामी पुग्न सक्छौं अन्यथा धार्मिक तनावबाट समाजको कहिल्यै प्रगति एवं उन्नती नहुने भएको हुँदा सबै पक्षहरु धार्मिक आस्थालाई विचार पुर्याएर काम गर्नुपर्ने आजको आवश्यक्ता रहेको देखिन्छ ।
गत साता देखि रौतहटको इशनाथ नगरपालिकाको वडा नम्वर २ देखि ७ सम्म जारी सम्प्रदायिक तनावलाई लिएर स्थानीय प्रहरी प्रशासनको साथ अन्य स्थानका बासिन्दाहरु गम्भीर बनेको छ । एउटा स्थानमा बस्ने विभिन्न धर्मका जनताहरु आपसमा कुटाकुट गरेर देशमै बदनाम हुने काम भएको छ । दुबै समाजका अगुवाहरु यस्ता कार्यलाई समयमै निष्तेज पार्नुपर्ने, आपसी भाइचारा कायम राख्नु पर्ने, षड्यन्त्रकारीलाई लखेटी स्थानीय प्रहरी प्रशासनको जिम्मा लगाई कानुनी कारवाही गराउनुपर्ने तर्फ अग्रसर हुनुपर्ने छ ।
शान्ति सदभावको कुनै विकल्प नरहेको यथार्थ कुरालाई मनन गरी एक अर्का बीच समन्वय र भाइचारालाई कायम राख्नुपर्ने छ ।
“आधुनिक विश्वमा सबै अघि बढिसकेको वेला हाम्रो समाज अझै १९ र २० बी शताब्दीमा हुने गरेका उच्श्रृंखल गतिविधिमा फस्नु निकै दुर्भाग्यपूर्ण रहेको लाग्छ कि हामी अहिले कहाँ छौं, कसले हाम्रो नेतृत्व गर्ला, के यस्तै सधैभरी धार्मिक सदभावमा खलल पुर्याएर आपसमा कुटाकुट गरेर केही फायदा छ त ? एक पटक सच्नुपर्ने समय आएको छ, हामी परिवर्तनशिल कहिले बन्ने हो ? यस्ता प्रश्न उठिरहेका छन् ।”
इशनाथको विषयलाई लिएर पर्सा सदरमुकाम वीरगञ्जमा समेत जातिगत द्वन्द सुरु भएपछि त्यहाँ पनि स्थानीय प्रशासनले कर्फयु लगाए । के सधैभरी रौतहटको नाम यसरी नै बदनाम गराउने हो ? के सधै हामी धार्मिक हिंसाको शिकार यस्तै बन्ने हो ? हाम्रो आउने भावि सन्ततीहरु के भनलान् कस्तो परिवेशमा जन्मीनु पर्यो, यस्तो सामाजिक कुरुतीहरुलाई चिर्दै एक अर्का विच हातेमालो गर्दै अघि बढ्ने सोचनिय बिषय रहेको छ ।
पक्कै यसप्रकारको घटना कुनैपनि धर्म मान्नेहरु पूर्व निर्धारित गर्दैनन्, समाजमा द्धन्द सृजना गराउने दुबै धर्मका केही चाटुकार, ठेक्केदारहरुको मात्रै काम रहेको हुँदा त्यस्ता तत्वहरुलाई समयमै पहिचान गरेर समाजबाट सधैको लागि धपाउनुपर्ने अनि मात्रै हाम्रो समजमा यस्ता कुरुतीहरुको अन्त्य हुने छ र सभ्य समाजको निर्माण हुने छ ।
विभिन्न देशि विदेशी शक्तिहरुको प्रलोभनमा केही अगुवाहरुको कारण यस्ता द्वन्द सृजना भएको छ । कुनैपनि अशान्ति एवं उच्श्रृंखल गतिविधिमा संलग्न नहुन र सदभाव कायम गराउन रौतहटको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र रौतहट प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठले इशनाथ सहित रौतहटबासी संग आग्रह गर्दै त्यस्ता तत्वहरुको पहिचान गरेर समयमै सुचना प्रवाह गराई समाजलाई अशान्त बन्नुबाट जोगाउन अपिल गरे ।
पहिला सिमापारी भारतको विहार, उत्तरप्रदेश, मध्यप्रदेश लगायतका राज्यहरुमा हुने गरेका धार्मिक सम्प्रदायिक दंगाहरु क्रमिक रुपमा सकिदै गएको छ तर हाम्रै नेपालको विभिन्न जिल्लाहरुमा त्यस्ता दंगाहरु हुनु अति नै दुखद भएकोमा एक पटक आत्मसमिक्षा गर्नुपर्ने समय आएको छ ।
धार्मिक अस्थिरता, धार्मिक अखण्डता, समाजिक सदभावको बर्खिलाप नगरी असल नागरिक सहर बस्नुपर्ने, सबै धर्मलाई उच्च सम्मान दिनुपर्ने, एक अर्काको सुखदुखमा सहभागी भई अघि बढेमा हाम्रो समाजमा ठूलो परिवर्तन आउने छ, विकासको गतिमा अघि बढ्ने छ, हाम्रो समाज शिक्षित बन्ने र असल नागरिक बनी देश विकासमा सकारात्मक योग्दान पुर्याएर आफनो गाउँ, पालिका, जिल्ला र देशको नाम उच्च बनाउने समयमा यस्ता समाज विगार्ने कार्यलाई आजकै दिन देखि बन्द गरी सभ्य नागरिकको कर्तव्य पुरा गर्नुपर्ने एक मात्र आजको आवश्यक्ता रहेका छन् ।
लेखकः तराई टप को सम्पादक हुनुहुन्छ ।