देवाही गाउँमा विद्यालय भवन बनेपछि समुदायमा खुशीयाली छाए

   १६ भाद्र २०७८, बुधबार १८:००  

रन्जयकुमार ठाकुर
देवाही गोनाही (रौतहट), १६ भदौं । देवाही गोनाही नगरपालिकाको सक्रियता एवं आर्थिक लगानीमा सरस्वती माध्यमिक विद्यालय देवाहीको दुई तल्ले भवनको निर्माण कार्य सम्पन्न भएको छ ।
देवाही गोनाही नगरपालिका वडा नम्वर ३ देवाही गाउँमा रहेको उक्त विद्यालयमा विद्यार्थीहरुलाई अध्ययन गर्न निकै कठिनाई भईरहदा नगरपालिकाको मेयर धर्मेन्द्र पटेलको विशेष पहलमा दुई बर्ष भित्र उक्त भवनको निर्माण कार्य पुरा भएको हो ।
राष्ट्रिय योजना आयोगको समपुरक बजेट र देवाही गोनाही नगरपालिकाको बजेटबाट सरस्वती माध्यमिक विद्यालय भवनको निर्माण कार्य सम्पन्न भएका छन् । २ करोड ५७ लाखको डिपिआर तयार भई सोही अनुसार राष्ट्रिय योजना आयोगको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत रकम गरी २ करोड ५७ लाखको बोलपत्र गत २०७७ असार महिनामा बोलपत्र आहवान गरिएका थिए ।
दुई तल्ले ८ वटा आधुनिक कक्षा कोठा निर्माण गर्न सरस्वती निर्माण सेवा रौतहटले १ करोड ६४ लाखमा ठेक्का सकार गरेर २०७७ असोजमा उक्त विद्यालय भवनको शिलान्यास मेयर पटेलले गरेको थियो । कोरोनाको उच्च महामारीमा पनि मेयर पटेलको रेखदेख एवं व्यवस्थापनले गर्दा निर्धारित समय भन्दा अगावै विद्यालय भवनको निर्माण कार्य पुरा गराउन सफल भएको बताइएको छ ।
विभिन्न बाधा अवरोध भएपनि उक्त बाधा अवरोधलाई चिर्दै विद्यालय भवन बनाउन सफल भएका छौं अव चाँडै उदघाटन गराई विद्यालयलाई हस्तान्तरण गराउने छु, मेयर पटेलले तराई टप संग भने । विकास निर्माणको कार्य देखि लिएर समुदायमा सकारात्मक संदेश जाने खालको निर्माण कार्यमा समेत उपमेयर देखि लिएर वडाध्यक्ष सम्म विरोध गर्ने प्रवृतिबाट नगरपालिकामा जनताहरु चाहे अनुसारको विकास निर्माणले गति लिन सकेन तै पनि आफूले भ्याए सम्मको सेवा सुविधा एवं विकास निर्माणमा सधै सकारात्मक रहेर कार्यहरु संचालन गराएको उनले भने ।
विद्यालय भवन निर्माण संगै देवाही गाउँका दलित एवं पिछिडिएको समुदायका बासिन्दाहरुमा खुशी छाएको छ । उनीहरु विद्यालयमा बसेर पढ्न सक्ने राम्रो वातावरण मेयरले तयार पारिदिएकोमा धन्यवाद समेत दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै