गौर नगरको मेयर गुप्ता सहित स्थानीय तहका ४८ जना जनप्रतिनिधिले लोसपा रोजे

तराई टप संवाददाता
रौतहट, १७ गते । गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ता सहित ४८ जना स्थानीय तहका जनप्रतिनिधिहरु महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।
जिल्ला निर्वाचन कार्यालय गौरमा विहिवार गौर नगरपालिकामा जसपाबाट निर्वाचित ३६ जना जनप्रतिनिधिहरु मध्ये ३२ जना लोसपामा रहने गरी जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका हुन् । गौर नगरको मेयर गुप्ता सहित विभिन्न पालिकाको प्रतिनिधिहरु गरेर आज ४८ जनाले लोसपालाई रोजेको जिल्ला निर्वाचन कार्यालय गौरले जनाएको छ ।
आजै माधव नेपाल अध्यक्ष रहेका नेकपा एकीकृत समाजवादी पार्टीमा ११ जना स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गौरमा जनप्रतिनिधीहरुले सनाखत गर्ने काम भईरहेको जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिए । जनप्रतिनिधीहरुले भदौ २१ गते सम्म पार्टी रोज्न पाउने छन । अध्यादेशले पार्टी रोज्न पाउने भएपछि रौतहटमा पनि जनप्रतिनिधिहरु पार्टी रोजीरहेका छन ।