तराई टप संवाददाता
रौतहट, १७ भदौ । कोभिड १९ जोखिमबाट नेपाली जनताहरुलाई जोगाउन कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप रौतहटमा आउदो साताबाट संचालन हुने भएको छ ।
सिमानाकामा खोप केन्द्र स्थापना गरी भारतबाट नेपाल आउने नेपाली नागरिकलाई सिमानाकामै खोप लगाउने व्यवस्थापन गरिएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा विहिवार जिल्ला खोप समन्वय तथा अनुगमन समितिको बसेको बैठकमा आउदो भदौं २२ र २३ गते एस्ट्राजेनिकाको खोप अभियान जिल्लाभरी संचालन हुने निर्णय गरिएको हो ।
नेपाल भारत सिमाको गौर भन्सार नजिक खोप केन्द्र बनाएर भारतबाट स्वदेश फर्किएका १८ बर्ष माथिका नेपाली नागरिकहरुलाई एस्ट्राजेनिकाको खोप लगाएर मात्रै आउने दिने निर्णय भएको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी यादवले भारतीय क्षेत्रमा नेपाली नागरिकहरु घर फर्किदा उनीहरुलाई समुचित रुपमा खोप लगाएमा जोखिम कम हुने भएको हुँदा चेकप्वान्ट मै खोप केन्द्र खडा गरिने बताए ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भदौ ५ गते भएको निर्णय अनुसार कोभि सिल्डको पहिलो डोज लगाएका नेपाली नागरिकहरु दोश्रो डोज नपाएकाहरुलाई एस्ट्राजेनिकाको खोप लगाउने भएको हुँदा आउदो भदौं २२ र २३ गते खोप केन्द्रमा गएर अनिवार्य रुपमा खोप लगाउन उनले आग्रह गरे ।
१८ बर्ष पुरा गरेकाहरु कक्षा १२ मा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पनि एस्ट्राजेनिकाको पहिलो डोज लगाउने भएको सर्वसाधारणमा जानकारी गराइएको तथा उक्त भ्याक्सीन ९३ स्वास्थ्य चौकी, ४ वटा स्वास्थ्य केन्द्र सहित १०८ वटा खोप केन्द्रबाट एष्ट्राजेनिकाको खोप लगाउन निर्णय भएको प्रजिअ यादवले जानकारी दिए ।