धनुषा, २२ फागुन । संघिय सरकारमा सत्ता गठबन्धमा फेरेरिएपछि मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको सरकारको ढाँचामा परिवर्तन हुने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एमाले सहित साना दल संग गरेको गठबन्धन संगै मधेशमा पनि सरकारको ढाँचामा फेरबदल हुने संकेतहरु देखा परेका हुन् ।
मधेशमा जनता समाजवादी पार्टी (जसपा) का यादव मुख्यमन्त्रीको नेतृत्वमा सरकार रहेका छन् । केन्द्रमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसँगै जनता समाजवादी पनि नयाँ गठबन्धनमा सामेल भएको हो ।
पहिले एमाले नेतृत्वकै गठबन्धन बनेका बेला मुख्यमन्त्री बनेका यादव केन्द्रमा सत्ता समीकरण फेरिएर नेपाली कांग्रेससहितको गठबन्धन बन्दा पनि मुख्यमन्त्रीमा निरन्तरता पाए । नयाँ गठबन्धन बन्दा मधेशको मुख्यमन्त्री पद जसपाकै भागमा पर्ने वा नयाँ दलले लिने भन्नेबारे सत्ता गठबन्धन भित्र छलफल टुंगिएको छैनन् ।
जसपा प्रदेश सांसद सरोज सिंह कुशवाह केन्द्रमा समीकरण फेरिएपनि मधेशमा जसपाको नेतृत्व यथावत रहने दाबी गर्छन् । यद्यपि नेताहरु केन्द्रमा सत्ता गठबन्धनको शीर्ष नेताको बैठकले के निर्णय गर्छ भनेर प्रतीक्षारत रहेका छन् ।
माओवादी केन्द्रको मधेश प्रदेश संसदीय दलका नेता भरत साह भने मधेशमा पनि सरकारको नेतृत्वमा आलोपालो हुन सक्ने बताए । ‘केन्द्रमा आलोपालो नेतृत्वको निर्णय हुन्छ । अब कसले पहिले नेतृत्व गर्ने वा यथावत रहने विषय केन्द्रले नै टुंगो लगाउनेछ । हामी केन्द्रको निर्णयको पर्खाइमा छौं’, उनले भने ।
मधेशमा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको सांसद संख्या सरकार गठनका लागि पर्याप्त छैन । १०७ सदस्यीय प्रदेशसभामा एमालेका सभामुख सहित २४, नेपाली कांग्रेसका २२, जसपाको १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९–९, एकीकृत समाजवादीका ७ सांसद छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका १–१ र एक स्वतन्त्र सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । एमाले, जसपा र माओवादी केन्द्रको ५१ सांसद मात्र पुग्छ ।
बहुमतको सरकारको लागि तीन सांसद अझै आवश्यक पर्छ । त्यसका लागि जनमत पार्टी, एकीकृत समाजवादी वा लोकतान्त्रिक समाजवादी पार्टीको पनि समर्थन आवश्यक पर्छ । जनमत पार्टीले गठबन्धनमा सामेल हुन मधेशको मुख्यमन्त्री पद पाउनुपर्ने सर्त राखेको छ । जसपा पनि यही गठबन्धनमा रहेकाले जनमतको सर्त पूरा हुने सम्भावना नरहेको नेताहरु बताउँछन् ।
किनभने संघीय संसदमा जसपाका १२ र जनमतका ६ सांसद छन् । प्रचण्डले जसपालाई बाइपास गरी जनमतलाई मधेशको नेतृत्व दिन सक्ने सम्भावना कम रहेको जसपाका नेताहरु बताउँछन् । मधेशमा अहिलेकै मुख्यमन्त्री निरन्तर रहने र सरकारबाट कांग्रेस बाहिरिने र एमाले सहभागी हुने सम्भावना रहेको जसपा नेताहरुको भनाइ रहेका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट