पालिका कप २०८० को उदघाटन खेलमा चन्द्रपुरलाई ३५ रनले हराउदै दुर्गा भगवती विजयी

   २६ फाल्गुन २०८०, शनिबार १९:१०  

रौतहट, २६ फागुन । पालिका कप २०८० टि–२० क्रिकेट टुर्णामेन्टको उदघाटन म्याचमा चन्द्रपुरलाई ३५ रनले हराउदै दुर्गा भगवती गाउँपालिका विजयी भएका छन् ।
टस हारेर पहिलो ब्याटिंग गरेका दुर्गा भगवती गाउँपालिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १२९ रन बनाएका थिए । दुर्गा भगवतीका लागि जगरनाथ दासले ३८ बलमा ४ चौका र तिन छक्काको मद्दतबाट ४६ रन बनाएको थियो भने सुरज मिश्रले १७ बलमा दुई चौका र १ छक्काको मद्दतबाट २१ रन, सन्दीप साह १७ रन, राजिव झा १५ बनाएर चन्द्रपुरलाई जित्नका लागि १३० रनको लक्ष्य दिएको थियो ।
दुर्गा भगवतीले दिएको रन टार्गेटलाई पुरा गर्न चन्द्रपुर प्रतिउत्तरमा मैदानमा ओर्लिदा खासै राम्रो प्रदर्शन गर्न सकेनन अन्ततः ३५ रनले हार बेहोर्नु परेको छ । चन्द्रपुरका लागि सर्वाधिक दानिश अहमदले ३६ बलमा ३० रन बनाए भने मुस्ताक मल्लिकले १७ र सुशान्त थापाले १३ रन बनाए भने अन्य कुनैपनि खेलाडी दोहोरो अंकमा प्रवेश गर्न नसक्दा ९५ रनमा अलआउट भएपछि ३५ रनले हार बेहोर्नु परेको रौतहट क्रिकेट संघका प्रेस संयोजक प्रविण टिब्देवालले जानकारी दिए ।
दुर्गा भगवतीका आशिक झाले ४ ओभरमा १ मेडन राख्दै १३ रन दिई ४ विकेट, पवन पासवानले ३.३ ओभरमा १२ रन दिएर ३ विकेट र आदित्य झाले ३ ओभरमा २१ रन दिई २ विकेट र यस गुप्ता, श्याम सिंहले क्रमश एक एक विकेट लिएर चन्द्रपुरलाई ९५ रनमै सिमित गर्दै पालिका कपको उदघाटन खेल दुर्गा भगवतीले विजयी सुरुआत गरेको प्रेस संयोजक टिब्डेवालले बताए । दुर्गा भगवतीले ९५ रनमा २६ रन एक्स्ट्रा रन दिएको थियो ।
चन्द्रपुरका लागि अस्चल चौधरी ३, मोहन घिमिरेले २, सुशान्त थापा, रिजवान अहमद र मुस्ताक आलमले क्रमश एक एक विकेट लिएको थियो ।
पालिका कपमा भोली अर्थात आईतवार गौर र गुजरा नगरपालिका विच खेल हुनेछ ।
क्रिकेट क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्न र गुणस्तरिय खेलाडी तयार गर्न वृहत स्तरमा पहिलो पटक रौतहट जिल्लामा शनिवार देखि टि २० पालिका कपको औपचारिक रुपमा सुरुआत भएका छन् ।
रौतहटको १८ वटै पालिकाबाट प्रतिभावान खेलाडी छनौट गरेर प्रत्येक पालिकाबाट एक÷एक टिम गरी पालिका कप २०८० मा १८ वटा टिमको सहभागितामा आज देखि औपचारिक रुपमा सुरु भएको प्रतियोगिताको उदघाटन चन्द्रपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाको बीच खेल भईरहेका हुन् ।
उदघाटन समारोहमा सबै पालिकाको प्रमुख उपप्रमुखहरुको उपस्थितिमा रौतहट क्रिकेट संघद्वारा आयोजित पालिका कपलाई व्यवस्थित एवं उत्कृष्ट खेलाडी उत्पादन गरेर रौतहटको टिम तयार गर्न अहिलेको आयोजनाबाट निकै टेवा पुग्ने रौतहट क्रिकेट संघका अध्यक्ष पवन साहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै