तराई टप संवाददाता
रौतहट, २२ भदौं । दुर्गा भगवती गाउँपालिकाको मत्सरी निवासी सरोजानन्द झाको घरमा डाकाहरुको एक समुहले डेढ महिनाको नवजात शिशुको टाउकोमा पेस्तोल राखेर लाखौं मूल्य बराबरको धनमाल लुटेर लगेका छन् ।
मुखमा मास्क लगाएर हतियार सोमवार मध्य राति १० जनाको संख्यामा आएको डाकाहरु दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी गाउँ निवासी झाको घरमा प्रवेश गरी डेढ महिनाको नवजात शिशुको टाउकोमा पेस्तोल तेश्रयाएर लुटपाट गरेको पिडित परिवारले जनाएका हुन् ।
अन्दाजी २० देखि २५ बर्ष समुहका नकावधारी डाकाहरुले भर्यांगको मद्दतबाट घरमा प्रवेश गरेर करिव २ घण्टा सम्म लुटपाट मचाएर सुनचाँदीका बहुमूल्य गरगहना, नगद सहित २० लाख भन्दा बढिको सम्पत्ती लगेको पिडित झाको छोरा मुकेश झाले बताए । मुकेशका अनुसार वुवाआमा सुतेको कोठालाई बाहिरबाट हैण्डल लगाईदिएर भाउजुको कोठा खोल्न लगाएर डेढमहिनाको नवजात भतिजोको टाउकोमा पेस्तोल राखेर घरका गोदरेज देखि लिएर ट्रन्कहरुलाई फुटाई बहुमूल्य समानहरु लगेको दुखेसो पोखे ।
नातिलाई टाउकोमा पेस्तोल तेश्रयाए पछि आफू संग लाइसेन्स भएका बन्दुक हुँदा हुँदै केही गर्न सकिएन उनले भने । झ्यालबाट कराएपछि छिमेकीहरु हो हल्ला गर्नासाथ डाकाहरु पछाडीको ढोकाबाट भाग्न सफल भए । डाका समुह फरार भएको केही वेरमै इलाका प्रहरी कार्यालय गंगापिपराको टोली आएर अनुसन्धान कार्य सुरु गरेको तथा उक्त घटनालाई जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी नारायण प्रसाद चिमोरिया आफै घटनास्थलमा पुगेर सुक्ष्म तवरबाट अनुसन्धान गरी दोषिहरुलाई चाँडै नियन्त्रणमा लिने बताए ।
घरका सवै कोठाहरुमा रहेका दराज, ट्रन्कहरु फुटाली सामानहरु छतविछत अवस्थामा छरिएको हुँदा प्रारम्भीक अवस्थामा ५ लाखको लुटिएको छ तर तिन छोरा र दुई बुहारी काठमाडौंमा रहेको हुँदा क्षतिको यकिन विवरण साझ सम्म आउने उनले बताए ।