राधेश्याम कुशवाहा
सर्लाही, ३ चैत । सर्लाहीको गोडैता नगरपालिकाको बगदह गाउँमा वडा कार्यालयको प्रशासकीय कामकाजको लागि पक्कि भवनको निर्माण कार्य पुरा भएको छ ।
गोडैता नगरपालिका वडा नम्वर ६ बगदहमा आर्थिक बर्ष २०७९÷०८० को वडास्तरिय योजना अन्तर्गत ३५ लाखको लागतमा पक्की भवनको निर्माण कार्य पुरा भएको हो ।
३५ लाखको लागतमा ४ कोठे पक्की भवनको निर्माण सम्पन्न भएको गोडैता नगरपालिकाको योजना शाखा प्रमुख सुरेन्द्र पटेलले जानकारी दिए ।
निर्माण कार्य सम्पन्न भएका भवनको एक समारोहका बिच गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र कुमार यादव, उपप्रमुख अन्जना कुशवाहा र वडाअध्यक्ष सचिन्द्र महतोद्वारा संयुक्त रुपमा उदघाटन गरिएका छन् ।
पुरानो वडा कार्यलय भवनको २ वटा कोठा हुलाकी सडकमा परेपछि सडक निर्माण गर्न भवन भत्काइए पश्चात वडा कार्यलय विभिन्न फरक फरक ठाउँमा सन्चालन हुँदै आउदा वडाबासीलाई झेल्नु परेको पीडा मर्कालाई ध्यानमा राख्दै उक्त वडा कार्यालयको प्रशासनीक भवन बनाउनु परेको वडाध्यक्ष सचिन्द्र महतोले बताए ।
वडा कार्यलयको आफनो भवन नहुदाँ विगत २ बर्षदेखि बर्थिंग सेन्टरका भवनमा कार्यलय संचालन गर्दै आएको वडाध्यक्ष महतोले बताए । निर्वतमान वडाअध्यक्ष सरस्वती देवी दासले आफनो कार्यकालमा आफनै घरमा वडा कार्यालय संचालन गरेका थिए ।
महतो आफू निर्वाचित भएपछि वडाकै योजनाबाट भवन निर्माणको प्रक्रिया अघि बढाएर सम्पन्न गराएको दाबी गरे । रामजानकी मठको भोगचलमा रहेको अन्दाजी १ कठ्ठा जग्गामा मठका पूजारी विशम्बर दासले दान गरेपछि भवन निर्माण सम्भव भएको उनले भने ।
भवन उदघाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख देवेन्द्र कुमार यादव ले वडा नम्वर ६ का वडा कार्यलय निर्माण सम्पन्न भएर आज देखि जनताको सेवामा समर्पित बताए । आफनो पहिलो कार्यकालमा केही विवादका कारण वडा कार्यलयको भवन निर्माण हुन नसकेको बताउदै ढिलो भएपनी भवन निर्माण भएकोमा खुशी व्यक्त गरे ।
वडाध्यक्ष महतोको अध्यक्षतामा सम्पन्न भएको भवन उदघाटन समारोहलाई शिक्षक नन्दु महतोले सन्चालन गरेका थिए ।
गोडैता नगरपालिकाका उपमेयर अन्जाना कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत रमेश कुमार यादव, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडासचिव अनिल कुमार गुप्ता लगायत स्थानीय भद्रभलादमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।