रौतहट, ६ चैत । शिक्षाको अभावमा वा समाजिक लोक लज्जाका कारण जानीजानी गरिदै आएको बाल विवाह, बहु विवाह र दाइजो प्रथा लगायतका महिलाहरु विरुद्ध हुने कसुर सम्बन्धी जनचेतनामूलक कार्यक्रम अहिले रौतहट प्रहरीले संचालनमा ल्याएका छन् ।
खास गरेर जिल्लाको ग्रामिण भेगमा रहेका समुदायमा हुने गरेका बाल विवाह, बहु विवाह, दाइजो प्रथाको कारण कतिपय घरपरिवारको उठिबास हुनुपर्ने अवस्था समेत सृजना भएको हुँदा त्यस्ता कुरितीहरुबाट जोगिन र सचेत बन्नका निमित्त जिल्ला प्रहरी कार्यालय रौतहटले अहिले ग्रामिण भेगमा यस्ता जनचेतना मूलक कार्यक्रमहरु संचालनमा ल्याएर महिलाहरुलाई जागरुक बनाउने कार्यमा लागि परेका हुन् ।
बाल विवाह एक कानुनी अपराध हो, उमेर नपुगेका किशोरीहरुलाई कलिलो उमेरमा विवाह गरिदिदा उनले गर्नुपर्ने कार्यहरुको वारेमा सोचन शक्ति नरहेको हुँदा सानै उमेरमा बच्चा जन्माउने गर्दा कुपोशित एवं उनको शरिरलाई निकै नोक्सानी पुर्याउने गरेको साथै सासु ससुराले भने अनुसारको काम नगर्दा प्रताडित समेत हुनु परेको अवस्थामा २० बर्ष पुरा नभए सम्म विवाह गराएमा कानुनी कसुरको भागी हुनुपर्ने देखिएको हुँदा आ आफनो छोराछोरीलाई विहेवारी २० बर्ष पारी मात्रै गर्नुपर्ने जस्ता सन्देशको प्रवाह प्रहरीले गर्दै आएको छ ।
बाल विवाह एक कानुनी अपराध हो, उमेर समुह नपुगका युवायुवातीहरुको विवाह गर्दा कानुन बमोजिम कसुरदार सावित हुने भएको हुँदा त्यस्तो कार्यहरु नगर्न र नगराउनु जनचेतना कार्यक्रम मार्फत स्थानीय महिलाहरुलाई सचेत गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
यस्तै बहु विवाह पनि एक कानुनी अपराध रहेको छ । एउटा श्रीमती छदाछदै अर्को श्रीमती घर भित्रयाउने कार्य नेपालमा कानुनी अपराधको श्रेणीमा राखिएको हुँदा त्यस्तो कार्यहरु नगर्न समेत सवैमा जनचेतना जागृह गराउनुपर्ने तथा दाइजो लिने प्रथालाई अन्त्य गर्नुपर्ने देखिन्छ । कतिपय महिलाहरु यथेष्ट दाइजो माइतीबाट नल्याएको भन्दै श्रीमान् सासुससुरा, नन्द लगायतका ससुराली पक्षका मानिसहरुबाट प्रताडित हुँदै आएको छ, कतिपयले दाइजोको निहुँमै प्रताडना सहन गर्न नसकेर आत्महत्या गर्न विवश भएकी छिन् भने कतिपयलाई मारिएका घटनाहरु पनि प्रशस्त सुन्न पाइन्छ । त्यस्ता कुरुती एवं विसंगतीलाई दुर गर्न गाउँ घरका महिलाहरु जागरुक बन्नुपर्ने देखिन्छ । महिला जागरुक भएमा आउने पिढि पनि जागरुक बन्ने छन् ।
दाइजो प्रथा कानुनी अपराध हो, कानुनको उलंघन गरेर कसैले दाइजो लिएर विहेवारी गर्दै गरेको जानकारी पाउना सथा प्रहरीलाई खवर गरेर कानुनी दायरामा ल्याउनमा मद्दत गर्न समेत उक्त जनचेतना कार्यक्रममा उपस्थित महिलाहरुलाई सचेत प्रहरीले गराइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले हालै कटहरीया नगरपालिका वडा नम्वर ५ कटहरीया बजार स्थित विवाह मण्डपको भवनमा आयोजित “बाल विवाह, बहु विवाह, दाईजो प्रथा लगायत महिला विरुद्ध हुने कसुर” सम्बन्धी जनचेतना कार्यक्रम संचालन गरेका थिए ।
उक्त कार्यक्रममा कटहरिया नगरपालिकाको नगरप्रमुख अजय प्रकाश जयसवाल, रौतहट प्रहरी प्रमुख एसप महेन्द्रकुमार श्रेष्ठ, डिएसपी एलिजा गिरी, नगर उपप्रमुख, विभिन्न वडाका वडाध्यक्षरु स्थानीय भद्रभलादमीहरु, संचारकर्मीहरुको साथ नगरपालिका भित्र बसोबास गर्ने महिला, वालिका, जेष्ठ नागरीक र विभिन्न विद्यालयका विधार्थी, शिक्षक, शिक्षिका तथा अभिभावकहरुको सहभागीतामा उक्त सचेतना कार्यक्रम सम्पन्न भएको थियो ।