राधेश्याम कुशवाहा
सर्लाही, ६ चैत । नेपालमा बसेर वित्तिय कारोवार गर्ने बैंकहरुलाई टार्गेट बनाउने गिरोह मध्ये दुई जना भारतीय डाकालाई अमेरिकन पेस्तोल र गोलीगट्ठा सहित सर्लाही प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।
विशेष सूचनाको आधारमा बरहथवा नगरपालिका वडा नम्वर ६ मगर टोल स्थित जिल्ला प्रहरी कार्यालय मलंगवा र इलाका प्रहरी कार्यालय बरहथवाबाट संयुक्त रुपमा सादा पोशाकमा खटिएका प्रहरी टोलीले सोमवार राति ८.४५ बजेको समयमा अमेरिकन पेस्तोल र गोलीगट्ठा सहित दुई जना भारतीय डाँलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
भारत विहार राज्य सीतामढी जिल्ला सैयारा गाउँका लक्ष्मण सिंहको २८ बर्षिय छोरा सन्नीकुमार सिंह र विहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ला गंगापिपराका अशोक राउतको २४ बर्षिय छोरा जितेन्द्रकुमार राउतलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताए ।
प्रहरीलाई प्राप्त सुचनामा मगरटोलमा डेरा गरेर बस्ने भारतीय नागरिक जितेन्द्रको साथबाट मेड इन युएसए लेखिएको ९ एमएमको अटोमेटिक पेस्तोल एक थान, सोको म्याग्जीन एक थान, ६ राउण्ड गोली तथा कोठाबाट फायर भएको खोका एक थान र भारतीय नम्वरको मोटरसाइकल सहित नियन्त्रणमा लिइएको डिएसपी चौधरीले भने ।
बरामद भएका अबैध हतियार र गोलीगट्ठा सहित दुवै जनालाई रातिनै जिल्ला प्रहरी कार्यालय मलंगवा तर्फ ल्याउने क्रममा बसबरिया गाउँपालिका वडा नम्वर ६ पोखरियाबाट अन्दाजी ७ सय मिटर अगाडीको मलंगवा तर्फको बाटोमा गाडीबाट जितेन्द्र राउत हाम फालेर भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिन चाइनिज पेस्तोल टाइप ५४ बाट ५ राउण्ड फायर गर्दा निजको बाँया घुडा, दाहिने तिघ्रमा २ राउण्ड गोली लागेको डिएसपी थारुद्धारा जारी गरिएको प्रेस नोटमा भनिएको छ ।
घाइते अपराधी राउतलाई प्रादेशिक अस्पताल मलंगवामा उपचार गरेर थप उपचारको लागि जनकपुर रिफर गरिएको तथा उनको अवस्था मध्यम रहेको बताए । उक्त घटनाको आवश्यक अनुसन्धान जारी रहेको उनले भने । उनीहरु केही समय देखि मगर टोलमा बसेर विभिन्न अपराधिक एवं गैरकानुनी कार्यमा संलग्न रहदै आएपछि प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गरेर उक्त सफलता प्राप्त गर्न सफल भएको डिएसपी थारुले तराई टप संग भने ।