सर्लाही, २९ चैत । सर्लाही सदरमुकाम मलंगवा नगरपालिकाको गोरखकाली चोक स्थित एक अटोपाट्र्स एवं रिपेरिङ सेन्टरको अगाडी जमिनमुनी गाडिएको अवस्थामा पेस्तोलमा लाग्ने ५३ राउण्ड गोली प्रहरीले बरामद गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्राप्त भएको सूचनाको आधारमा विहिवार विहान १० बजेको समयमा मलंगवा नगरपालिका वडा नम्वर ८ गोरखकाली चोक स्थित भोलाबाबा अटो पाट्र्स एण्ड विजय रिपेरिङ सेन्टर अगाडी कवाडी राख्ने खुला स्थानमा जमिनमुनी गाडिएको सुनचाँदीको गहना राख्ने बट्टा भित्र ५३ राउण्ड पेस्तोलको गाली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं दिएसपी दिपक श्रेष्ठले जानकारी दिएका हुन् ।
गोरखकाली चोकमा चन्द्रभुषण यादवको घरमा इश्वरपुर नगरपालिका वडा नम्वर ५ घर भएका २८ बर्षिय विजय महतोले संचालन गरेका भोलाबाबा अटो पाट्र्स एण्ड विजय रिपेरिङ सेन्टर अगाडी विग्रेको मोटरसाइकल एवं कवाडी राख्ने खाली स्थानमा प्रहरीले ६ इन्च जमिन खन्दा सुनचाँदीको गहना राख्ने बट्टा भित्र केएफ ७.६५ लेखिएको ५३ राउण्ड पेस्तोलमा लाग्ने गोली बरामद गर्न सफल भएको डिएसपी श्रेष्ठले बताए ।
बरामद भएको ठूलो परिमाणमा गोली कसरी यहाँ सम्म आयो, कसले राखेको होला, सो विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको उनले बताउदै अहिले सम्म कसैलाई पनि नियन्त्रणमा नलिएको तथा अनुसन्धान दोषि व्यक्तिको पहिचान गरेर नियन्त्रणमा लिने डिएसपी श्रेष्ठले भने ।
स्मरणीय छ की, नेपाल भारत सीमाक्षेत्रमा अवस्थित गोरखकाली चोकमा जमिन मुनी ५३ राउण्ड गोली राख्नु पक्कै सर्लाहीमा अपराधिक क्रियाकलापमा अंकुश लगाउने कार्यमा प्रहरीको सक्रियता बढे संग अपराध गर्नेहरु सजग भई त्यसो गरेको हुन सक्ने आशंका गरिएका छन् ।