भारतीय उपहारको ओइरो

   ३ बैशाख २०८१, सोमबार १७:४७  

रौतहट, ३ वैशाख । नेपाललाई भारतले उपहारको ओइरो लगाएको छ ।
नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेर मित्रताको धर्म निर्वाह गरेको हो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरे । उक्त उपहार वितरण समारोहमा मेयर तथा विभिन्न जिल्लाका नगरपालिका एवं गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेका थिए ।
उपहारस्वरुप भारतीय दूताबासले आइतबार हस्तान्तरण गरिएका एक सय एक सवारी साधन मध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर प्रमुख जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेको थियो ।
नेपालमा स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशक देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहार स्वरुप प्रदान गर्दै मित्रताको धर्म निर्वाह गरिरहेका छन् । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले चालेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले लामो समयदेखि दिदै आएको पहल मध्येको एक रहेको बताए ।
उनले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारी कै एक अंशको रुपमा रहेको जानकारी दिए । भौगोलिक रुपमा नेपालभर फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको उनले बताए ।
अर्थमन्त्री वर्षमान पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास सम्बन्धीका परियोजनाको सराहना गर्दै यसले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने बताए । साथै यस्ता महत्वपूर्ण कार्यक्रम नेपाली जनताका लागि निकै फाइदाजनक भएको प्रष्ट पारे ।
सन् १९९४ यता भारत सरकारले आजको सहित हाल सम्म नेपालभरीमा १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरुप उपलब्ध गराइसकेको दुतावासद्धारा जारी तथ्याँकमा उल्लेख गरिएको छ ।
यस्ता सहयोग स्वास्थ्य तथा शिक्षा क्षेत्रका सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्याउन र त्यस्ता सेवामा सहज भौतिक रुपमा पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रुपमा रहेको दूतावासले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै