रौतहट, ५ वैशाख । आज बुधवार चैत शुक्ल नवमी तिथि अर्थात भगवान रामको जन्म भएका दिनलाई सनातन हिन्दु धर्मावलम्बीहरुले रामनवमीको रुपमा रौतहट सहित नेपाल भारत लगायत विश्व भरी मनाइदैछन् ।
रामको जन्म जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा आज सनातन हिन्दुधर्मावलम्बीहरु धुमधामका साथ विभिन्न कार्यक्रम गरेर मनाइरहेका हुन् ।
रौतहट सहित देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाइरहेको छ ।
गौरको राम मन्दीरलाई सजाइएको छ, हिन्दुहरु विभिन्न कलाकृतिका झाँकीहरु प्रदर्शन गरिरहेका छन्, हिन्दुहरु मोटरसाइकल रयाली निकालेका छन् तथा जिल्लाका विभिन्न स्थानमा रामनामको धुनबाट भजनकिर्तनहरु जारी रहेका छन् । गौर नगरपालिकाले सार्वजनिक रुपमा सूचना जारी गरेर आजका दिनमा नगरभित्र माछामासुको विक्री वितरण नगर्न आग्रह गरेको छ ।
माता जानकीको नगरी जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि पूजा अर्चना गर्न भक्तजनको घुइँचो लागेको छ । आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गंगासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् ।
आज जलाशयमा स्नान गरी पवित्र भएर व्रत बस्ने गरिन्छ भने रामगीता र रामायण पाठ पनि गरिन्छ । रामभक्तियुक्त भजन कीर्तनका साथ राति जाग्राम बस्ने परम्परा पनि छ ।
धार्मिक शास्त्रअनुसार भगवान् श्रीरामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको कायम गरेका कारण उनलाई मर्यादा पुरुषोत्तम भनिएको हो । राम राज्यका नामले परिचित भगवान् रामको राज्य न्यायका लागि उदाहरणको रुपमा लिने गरिन्छ ।