तराई टप संवाददाता
मत्सरी (रौतहट), ३ असोज । दुर्गा भगवती गाउँपालिका स्थित संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई “बेटी बचाउ, बेटी पढाउ” अभियान अन्तर्गत प्रदेश सरकारको कृषि राज्य मन्त्री योगेन्द्र राय यादवले साइकल वितरण गरेका छन् ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरीमा रहेको संस्कृत माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत ३३ जना छात्राहरुलाई आईतवार एक समारोहका विच राज्य मन्त्री यादवले साइकल वितरण गरेका हुन् ।
जसपा नेपालले वर्तमान संविधान विभेदकारी रहेको भन्दै विरोध जनाइरहेको अवस्थामा पनि राज्य मन्त्री यादवले टाउको र हातमा कालोपटी बाँधेर “बेटी बचाउ, बेटी पढाउ” मुख्यमन्त्रीको अभियानलाई निरन्तरता दिएको उनले बताए । जनताको काम गर्न आफूलाई कसैले रोक्न नसक्ने त्यसमा पनि छात्राहरुलाई अध्ययन गर्न प्रोत्साहित गर्ने कार्य सबै भन्दा पहिलो प्राथमिकतामा राखेर यहाँ उपस्थित भएको बताए ।
संविधान विभेद भएपनि सरकारमा बसेर पनि विरोध जनाइरहेको तथा मधेशी लगायत अन्य समुदायको मागलाई सम्बोधन नभए सम्म हाम्रो अभियान एवं विरोधका कार्यक्रमहरु जारी रहने प्रतिबद्धता जनाए । मत्सरीबासीको लागि हरेक क्षेत्रमा आफूले भ्याए सम्म सहयोग गर्दै जानेछु स्पष्ट पारे ।
विद्यालय व्यवस्थापन समितिको निर्वतमान अध्यक्ष भुजेन्द्र झाको सभापतित्वमा सम्पन्न साइकल वितरण समारोहमा गापा उपाध्यक्ष श्रीमती मंजुदेवी झा, वडाध्यक्ष धर्मेन्द्रकुमार झा (डिके), प्रधानाध्यापक त्रियोगनारायण झा सहित शिक्षक, समाजसेवी हरुको उपस्थिति रहेको थियो ।
सभाहलको उदघाटन एवं अनुगमन निरीक्षण
मत्सरी दुर्गा मन्दीर परिसरमा कृषि राज्य मन्त्री योगन्द्र राय यादवको विशेष पहलमा प्रदेश सरकारको आर्थिक सहायताबाट निर्माण सम्पन्न भएको सभा हलको आज एक समारोहका विच उदघाटन गरिएको छ ।
उदघाटन पश्चात सभाहल र लाइव्रेरी हलको निरीक्षण गर्दै भवन निर्माणमा सहयोग पुर्याउन मद्दत गरेका निर्माण समितिका अध्यक्ष भुजेन्द्र झा, सचिव हेमचन्द्र झा, आनन्द झा, गापा उपाध्यक्ष श्रीमती मंजु देवी झा, वडासदस्यहरु कमलेश झा सहित दुई महिला, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रेमचन्द्र झा, प्रभातकुमार झा, जितेन्द्र दास सहितका विभिन्न व्यत्तित्वलाई दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।