सर्लाही, १२ वैशाख । सर्लाहीको बलरा नगरपालिकाको मिर्जापुर गाउँमा मंगलवार राति एक घरमा आगलागि भएपछि आगो निभाउने क्रममा दुई जना पोलेर घाइते भएका छन् ।
बलरा नगरपालिका वडा नम्वर ६ मिर्जापुर निवासी रामचन्द्र महतोको घरमा गएराति आगलागि भएपछि आगो निभाउने क्रममा घरधनी महतो र छिमेकी २३ बर्षिय राजमंगल महतो आगोमा पोलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
आगो निभाउने घरधनी महतोको दुवै हतकेला र दुवै खुट्टा तथा राज मङ्गलको दाहिने हात र पिठ्यु पोलेर घाइते भएपछि दुबै जनालाई राति नै स्थानीय स्वास्थ्य संस्थामा उपचार भई घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले बताए ।
गएरराति ८.३० बजेको समयमा विजुली सर्ट भएर लागेको आगलागिबाट महतोले छोरीको विहेका लागि किनेका कपडाहरु तथा घरभित्रका सम्पूर्ण सामानहरु जलेर पूर्ण रुपमा नष्ट बताइएको छ । आगलागिबाट महतोको घरमा रहेका करिव ६ लाख मूल्य बराबरको धनमाल क्षति भएको डिएसपी श्रेष्ठले बताए ।
अहिले दिनरात भरी पश्चिमा हावा निरन्तर रुपमा चलिरहेको हुँदा खाना पकाउन तथा अन्य समयमा आगोलाई राम्ररी निभाउने कार्य प्रति स्थानीयहरु सजग बन्नुपर्ने समय आएको उनले आग्रह गरे ।