रौतहट, १२ वैशाख । नेपाल भ्रमणमा रहनु भएका कतारी अमिर शेख तमिम बिन हमाद अल थानीले बुधवार प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) संग शिष्टाचार भेटवार्ता गर्दै द्विपक्षीय लगानी र सहकार्य संग सम्बन्धित समझदारी सम्झौतामा हस्ताक्षर गरिएका छन् ।
दुई दिने नेपाल भ्रमणमा रहेका कतारी हमाद अल थानी र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी सम्झौतामा हस्ताक्षर भएका हुन् ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालय सम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी हुदै सम्झौता भएको छ ।
यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघ बीच पनि दुईवटा सम्झौता भएका छन् । होटल सोल्टीको भएको कार्यक्रम पछि प्रधानमन्त्री प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो ।