दलितहरुले अधिकारको लागि आन्दोलन गर्ने

तराई टप संवाददाता
रौतहट, ८ असोज । दलित आवास निर्माण संघर्ष समिति रौतहटको भेलाबाट दलित माथि भईरहेको भेदभाव एवं शोषण विरुद्ध आन्दोलन गर्ने भएका छन् ।
रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही संग्रहालयमा भेला भएका दलित अगुवाहरुको वृहद जिल्ला स्तरिय भेलाबाट दलित, असहाय, घरबार विहिन भएका जनता माथि दमन, शोषण लगायतका कार्यबाट पिडित बन्दै गएको अवस्थामा बाध्यताबस आन्दोलन गर्नु परेका हुन् ।
आउदो असोज १२ गते रौतहट सदरमुकाम गौरमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने तथा १५ गते स्थानीय तह घेराउ गर्ने कार्यक्रम तय गरिएको छ ।
दलित अगुवा भेलालाई सम्बोधन गर्दै पूर्व मन्त्रि प्रभु साहले लोकतन्त्रमा जनताको शासन व्यवस्था हुन्छ तर मुलुकको विद्यमान अवस्थामा जनताहरु परेशान र लाचार रहेकोमा दुख व्यक्त गरे । अहिले जताततै अराजक, भ्रष्टाचार जस्ता धमिराबाट जकडिएको मुलुकमा दलितहरुलाई झन् कमजोर बनाउने षड्यन्त्र भईरहेको हुँदा दलितहरु अव कमजोर छैन आफनो अधिकारको लागि लड्न सक्ने क्षमताको विकास गरेको हुँदा दलितहरु आफनो अधिकारी खोस्न जुन सुकै कदम उठाउन सक्ने चेतावनी समेत दिए ।
दलितहरुको आवासको नाममा रौतहटको १८ मध्ये १६ वटा पालिकामा कामै नगरी रकम व्यापक दुरुपयोग गरेको हुँदा सोका विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक हुनु स्वागत योग्य कार्य भएको ठहर गर्दै नेता साहले सर्वहारा वर्गको उत्थान एवं आत्मनिर्भर बनाउने कार्यमा दलितहरु जागरुक हुनुपर्नेमा जोड दिए ।
नेपालको संविधानले आवासको अधिकारलाई मौलिक हकको रुपमा स्थापित गरी प्रत्येक गरीब दलितको घर निर्माणको लागि वर्षैनी अरबौ बजेट विनियोजित गर्दा समेम कुनै राहत नपुगेको दलित अगुवा रामनाथ माझीले बताए । जनता आवास शिर्षक अन्तर्गत दलित गरीबको घर बनाउन प्रतिघर तिन लाख पचास हजारको दरले प्रत्येक वर्ष प्रदेश सरकारलाई अरबौं रकम विनियोजन गर्ने गरेको छ ।
त्यसैगरी सुरक्षित आवास शिर्षकमा गरीबहरुको लागि प्रति घर ७५ हजारको दरले करोडौं रकम प्रति वर्ष स्थानीय तहहरुमा निकासा हुने गरेको भएतानि सम्बन्धित निकायहरुको लापरवाही लछित बर्ग सम्म पुग्न नसकेकोले आन्दोलन गर्न आफुहरु बाध्य हुनु परेको बताए ।