सहमती पछि पूर्वाधार विकास कार्यालय गौरमा लागेको ताला खोलियो

   १६ बैशाख २०८१, आईतवार १८:१३  

रौतहट, १६ वैशाख । नेपाली कांग्रेस नेताहरूले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी सहमति पछि आइतबार खुलेको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आइतबार बिहान बसेको सर्वपक्षीय बैठकमा ५० लाख भन्दा बढी रकम भएको योजनालाई बोलपत्र मार्फत बन्दोबस्त मिलाउने लगायतका सहमति भए पछि पूर्वाधार विकास कार्यालयको ताला खुलेकोे हो ।
बैठकमा एमाले केन्द्रीय सदस्य गुप्ता, कांग्रेस जिल्ला सभापति जितेन्द्र र पूर्वाधार कार्यालयका प्रमुख बिनोद कुमार ठाकुर सहित तीन सदस्यीय समिति गठन भएको बताईएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति सुनिल कुमार यादवको अगुवाइमा गएका कांग्रेसका नेता कार्यकर्ताहरूले पूर्वाधार कार्यालयको ताला खोलेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ता, प्रजिअ रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्रका एसपी बिक्रम हुमागाईं, राष्ट्रिय अनुसन्धानका उप निर्देशक अभिनय कुमार सिंहका साथै बिभिन्न राजनीतिक दलका नेताहरू, निर्माण व्यवसायीहरुको उपस्थितिमा उक्त सहमती भएको थियो ।
उक्त समिति मधेश प्रदेश सरकारका वर्तमान भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवसँग वार्ता गरी सहमति अनुसार विकास बजेट सञ्चालन गर्ने निर्णय भएको बुझिएको छ । यस अघि योजनाकै लागी प्रदेश सरकारबाट बाहिरिएका कांग्रेस नेता कार्यकर्ताहरूले पूर्वाधार कार्यालयमा गत बुधबार भ्रष्टाचारको आरोप लगाउँदै तालाबन्दी गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै