पर्सा, १७ वैशाख । आर्थिक नगरी वीरगञ्जमा प्रहरीले गोली चलाएर एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४० वर्षीय भारतीय नागरिक गणेश भन्ने बब्लु पासवान रहेको पर्सा प्रहरीका प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले बताएको हो ।
डेढ वर्ष अगाडि काठमाडौँको गोठाटारमा सर्लाहीका गार्मेन्ट व्यवसायी लाल मोहम्मदको हत्याकाण्डका मुख्य योजनाकार रहेका सुटर पासवानलाई पर्सा प्रहरीले विशेष सुचनाको आधारमा नियन्त्रणमा लिन खोज्दा भाग्न थाले पछि प्रहरीले गोली चलाउनु परेको बताइएको छ ।
२०७९ असोज ३ गते लाल मोहम्मदलाई गोठाटारमा गोली प्रहार गरेर हत्या गरेपछि उनी प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए ।
आइतबार राति ११ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं १६ भुटनदेवी मन्दिर क्षेत्रमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनलाई नियन्त्रणमा लिन खोजेको थियो । यद्यपि उनी भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड गोली चलाएर निजलाई नियन्त्रणमा लिएको डिएसपी विक्रम थापाले बताए । एक राउन्ड गोली पासवानको खुट्टामा लागेको डिएसपी थापाले भने ।
घाइते पासवानलाई नियन्त्रणमा लिएर नारायणी अस्पतालमा उपचार गराई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनको साथबाट प्रहरीले एक थान पेस्तोल, केही राउन्ड गोली र थोरै परिमाणमा लागूऔषध समेत बरामद गरेको थापाले बताए ।
यसबारेमा थप अनुसन्धान गरी मङ्गलवार बिहान प्रहरीले विस्तृत जानकारी गराउने थापाले भने ।
लाल मोहम्मदलाई गोली हानी हत्या गरेपछि त्यसमा संलग्न पर्साका महोरम मियाँ, रेहान मियाँ र मकवानपुरकी सुमी भन्ने सुस्मिता स्याङताङलाई प्रहरी २०७९ असोज १४ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो । हत्याकाण्डका मुख्य योजनाकार र सुटर भनिएका पासवान भने फरार रहँदै आएका थिए । पासवान वीरगञ्जका उद्योगपति सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन