भन्सार छलीका लाखौंको कपडा बौधीमाईबाट बेवारिसे अवस्थामा बरामद

   १७ बैशाख २०८१, सोमबार २१:१९  

रौतहट, १७ वैशाख । भन्सार छली गरेर भित्रयाइएको लाखौ मूल्य बराबरको कपडा नेपाल प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्राप्त गोप्य सुचनाको आधारमा सोमवार विहान ८ बजेको समयमा बौधीमाई नगरपालिका वडा नम्वर ७ स्थित एक घरमा लुकाएर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय गौर र मातहतबाट खटि गएको प्रहरीले बरामद गर्न सफल भएको हो ।
भन्सार छलेर नेपाल भित्रयाई बाहिर पठाउने तयारीमा रहेका करिव १३ लाख २६ हजार ४५ रुपैया मूल्य बराबरको कपडालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिईन् ।
बरामद गरिएका ठूलो परिमाणका भन्सार छलीका कपडालाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको उनले भनिन् ।
पछिलो समयमा रौतहटको प्रमुख सिमानाकाहरुमा पूर्ण रुपमा कडाई गरिएपनि इशनाथ, बौधीमाई र राजदेवी नाकामा खासै कडाई नहुँदा उक्त क्षेत्रबाट राति राति राजस्व छलेर मालसामानहरु भित्रयाउने गिरोह सक्रिय रहेको पाइएको कारण यत्रो परिमाणमा कपडा पक्राउ परेका छन् ।
जिल्लाको प्रमुख नाका गौर भन्सारबाट सर्वसाधारणहरुलाई दैनिकीको लागि भारतीय बजारबाट अलिकति पनि सामान ल्याएमा भन्सार काट्ने गरिएको भएपनि ग्रामिण भेगमा कडाईको खासै असर परेको देखिदैनन् किन भने त्यस भेगका युनिटहरुलाई मिलाएर यस्ता भन्सार छलीका कार्यहरु जारी रहेको पाइएको श्रोतले दावी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै