एक दिने नेपाल भ्रमणको क्रममा जापानी विदेशमन्त्री खामिखावा आज काठमाडौं आउदै

46 Shares
रौतहट, २३ वैशाख । जापानकी विदेशमन्त्री एक दिने नेपाल भ्रमणको क्रममा आज काठमाडौं आउदैछिन् ।
जापानकी विदेशमन्त्री खामिखावा योको आज काठमाडौंमा प्रधानमन्त्री, राष्ट्रपति, समकक्षी संग भेटघाट कार्यक्रम तय गरिएका हुन् ।
अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो बाट सिधै काठमाडौं आउन लागेकी छिन् ।
काठमाडौंमा उनले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ । नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा उनको यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउनमा मद्दत मिल्ने विश्वास गरिएको छ ।
मन्त्री श्रेष्ठसँगको भेटवार्तालगत्तै खामिखावा आजै काठमाडौंबाट टोकियो फर्किने जापानको विदेश मन्त्रालयले निकालेको विज्ञप्तीमा उल्लेख छ ।
जापानकी विदेशमन्त्री खामिखावाले अप्रिल २६ देखि नेपाल र श्रीलंकासहित मादागास्कार, कोट डी आइवर, नाइजेरिया र फ्रान्सको भ्रमणमा निस्किएकी थिइन् । ४ मे मा श्रीलंका पुगेकी उनी त्यहाँ एक दिन बसेर ५ तारिख नेपालको राजधानी काठमाडौं आउन लागेकी हुन् ।
जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । नेपालमा सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीको भ्रमण भएको थियो । त्यसपछि सन् २०१९ मा जापानका तत्कालीन परराष्ट्रमन्त्री कोउनो तारोउको मन्त्रीस्तरीय भ्रमण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार