प्रहरीको जागिर छाडेर मुम्बई गएका रुद्रको “पहला प्यार” हिन्दी गीत सार्वजनिक

   २३ बैशाख २०८१, आईतवार १८:१८  

संजयकुमार मिश्रा
रौतहट, २३ वैशाख । परिवारको दवावमा प्रहरी सेवामा प्रवेश गरेको पाँच बर्ष वित्न नपाउदै जागिर छाडेर मुम्बई पुगेका रौतहट जिल्लाको कटहरिया नगरपालिका १ का युवा गायक रुद्रकुमार तिवारी आखिरकार आफनो पहिलो एलबम “पहला प्यार” शनिवार सार्वजनिक गराउन सफल भएका छन् ।
भारतको सपनाको नगरी अर्थात माया नगरीको रुपमा प्रख्यात रहेका मुम्बईमा एक बिशेष समारोहका बिच हिन्दी गीत “पहला प्यार” एलबम सार्वजनिक गराउन सफल भएका हुन् ।
कटहरिया नगरपालिका वडा नम्वर १ भसेढवा घर भएका युवा गायक तिवारीको स्वरमा शनिवार हिन्दी गीत ‘पहला प्यार ’ गीत एवं भिडिओ सार्वजनिक गरिएको छ । माया नगरी मुम्बईमै तयार गरिएको हिन्दी गीत “पहला प्यार“ एलबममा अभिनेताको रुपमा रुद्र नारायण तिवारी र अभिनेत्रीको रूपमा सलोनी कुमारीले अभिनय प्रस्तुत गरेको छ ।
गीतको निर्देशन र सम्पादन अनुपम साहले गरेका छन् भने छायांकन र भिडियो मिक्सिङ रेहान खानले गरेका छन् । विशेष सहयोगीको रुपमा साजन जयसवाल रहेको तथा गीतको रचना र स्वर रुद्रनारायण तिवारीले दिएको बताइएको छ ।
“पहला प्यार” बोलको गीतमा प्रेमी–प्रेमिकाबीचको माया–प्रेमलाई दर्शाईएको छ । गायक तिवारीले यसअघि पनि ‘ओ.. माँ’ हिन्दी गीत पुरातात्विक महादेव मन्दिर मौलापुरको बहुचर्चित गीत भोजपुरी भाषामा र ‘देवा देवाले’ ‘दो दिल मिल रहा है’ हिन्दी गीत गाईसकेका छन् । तिवारी विगत एक दशक देखी भारतको मायानगरी मुम्बईमा बसेर गीत संगीतको प्रशिक्षण एवं कला सिक्दै आएका थिए ।
रामकमोद तिवारी र मिना तिवारीको दोस्रो सन्तानको रूपमा जन्मिएका रुद्र नारायण तिवारी विद्यार्थी जीवन देखिनै सांगितिक क्षेत्रमा रुची राख्दै एउटा स्थापित गायक बन्ने सपना देखेका थिए । आफ्नो सपना पुरा गर्न नेपाल प्रहरीको जागिर त्याग गरेर उनी मुम्बई पुगेको थियो । कक्षा १२ सम्म पढेर बाबु आमाको दवाबमा २०६६ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । करिब ५ वर्ष सम्म नेपाल प्रहरीमा जागिर संगै काठमाडौँमा संगीतको शिक्षा लिए । तिवारी संगीतको थप अध्ययन गर्न नेपाल बाट मुम्बई जाने निधो गर्दै २०७१ सालमा सधैंका लागि प्रहरीको जागिरबाट राजिनामा दिएर मायानगरी मुम्बई पुगेका थिए ।
सुरु सुरुमा मुम्बईमा कठिन परिस्थितिहरुको सामना गर्दै संघर्ष गरेर भएपनि संगीतका् कक्षा प्रारम्भ गरेको उनले बताए । पंडित जसराज स्कुल अफ म्युजिक फाउन्डेसन त्यस पछि अखिल भारतीय गन्धर्व महाविद्यालयमा पंडित मधुसूदन आपटे संग विगत ८ वर्ष देखी संगीतको साधनामा लिए । त्यस बीचमा तिवारीले भारतका प्रख्यात गायक÷ संगीतकार हरु संग काम गरेको अनुभव सुनाए ।
सन २०१६ मा डाक्टर सागरको शब्द र विपिन पटवाको संगीतमा पहिलो गीत “ओ माँ” को एलबम सार्वजनिक गरेका थिए । त्यसपछी हिन्दी, भोजपुरी भाषाको दर्जनौं गीत गाएर अहिले पनि मुम्बईमा आफ्नो संघर्षको यात्रालाई जारी राखेका छन् ।
नेपालबाट मुम्बई पुगेर संगीत संगै अध्ययन गरेका धेरै कलाकारहरु मध्ये बलिउडका चर्चित गायक कलाकार उदित नारायण झा र सर्लाहीका रविराज शाहले पटकपटक सहयोगका साथै अनेक सलाह सुझाव र हौसला प्रदान गर्दै आएको तिवारीले भने । तिवार िसामान्य किसान परिवारका रहेर गायक कलाकार उदित नारायण जस्तो बन्ने सपना बोकेर मुम्बई पुगेको बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै