रौतहटको वनजंगलमा ४ वटा वयस्क बाघ रहेको पुष्टि

392 Shares

तराई टप संवाददाता
रौतहट, १५ असोज । रौतहटको वन जंगलमा चार वटा बयस्क बाघहरु रहेको तथ्य फेला परेको छ ।
२०७७ माघ २ देखि क्यामेरा ट्र्यापिङ विधिबाट गरिएको गणनामा चार वटा वयस्क बाघ फेला परेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र जुओलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) ले डिभिजन वन कार्यालय रौतहटसंगको सहकार्यमा बाघ गर्न गणना थालेका थिए ।
त्यति बेला १५ दिनसम्म रौतहट र सर्लाहीको सीमा वाग्मती खोलादेखि चितवन र मकवानपुरको सीमा लोथर खोलासम्म अकुपेन्सी सर्भे र रौतहटमा बाघ गणना एकै साथ गरिएको थियो । पश्चिम धन्सर खोला, पूर्व वाग्मती खोला तथा वन क्षेत्रलाई लक्षित गरी गैंडाटार, जुडिबेला, चोचा, सिम्री लगायतको वन क्षेत्रमा १७ जोर क्यामेरा जडान गरिएका थिए ।
प्रत्येक ५ वर्ग किलोमिटर वन क्षेत्रमा १ जोडी र महत्त्वपूर्ण स्थानमा २ जोडी सम्म क्यामेरा जडान गरिएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषले ती क्यामेराको विश्लेषण गरेको हो । सर्भे अन्तर्गत पर्सा राष्ट्रिय निकुन्ज संग जोडिएको निकुन्ज बाहिरको वन क्षेत्रमा बाघको उपस्थितिको साथै चरा, रुख, झाडी र जडिबुटीको पनि गणना गरिएको थियो । वनसंग जोडिएको रौतहटको मानव बस्तीहरूमा स्थानीयको चौपाया बाघले खाएको गुनासो आएको र बिभिन्न वन क्षेत्रमा स्थानीयले बाघको पाइला तथा अन्य गतिविधिबारे पनि पटक पटक सूचना दिएका थिए ।
त्यसैले निकुन्ज बाहिरको वन क्षेत्रमा बाघको उपस्थिति यकिन गर्न यो सर्भे गरिएको जेडएसएल नेपालका राष्ट्रिय उपमहानिर्देशक भगवानराज दाहालले बताए । उनले हालै रौतहटमा फेला परेका बाघ पर्सा राष्ट्रिय निकुन्जबाटै गएको हुनुपर्ने बताए । बाघहरु आहारा र बास स्थानको खोजीमा निकुन्जको कोर एरियाबाट बाहिर निस्केको हुनुपर्छ, उनले भने, यो प्रवृत्ति पर्सा निकुन्ज मात्र नभई डडेलधुरामा समेत देखिएको छ ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभन्द्र आचार्यले बाघहरु बासस्थान तथा आहाराको खोजीका लागि वनको नया क्षेत्र चयन गर्ने गरेको बताए । बाघ चितुवा जस्तो आहाराको खोजीमा मानव बस्तीमा पस्दैन, उनले भने, उसले वन क्षेत्रमै आहारा र नया बास स्थानहरु खोज्छन् । स्थायी सुरक्षा, आहारा प्रजातिका वन्यजन्तु र पानीको पर्याप्तता भएको क्षेत्रलाई प्रायः बाघले नया बासस्थानको रूपमा चयन गर्ने गरेको उनले बताए । क्यामेरामा फोटो परेका बाहेक पनि थप बाघ हुन सक्ने उनले बताए ।
त्यति बेला राखिएका क्यामेरामा परेका बाघको फोटो मात्र देखिएका छन्, उनले भने, गणना अवधिमा क्यामेरामा नआएका बाघ पनि वन क्षेत्रमा हुन सक्छन् । जेडएसएलले आधिकारिक रूपमा विभागलाई आफ्नो पूर्ण प्रतिवेदन हस्तान्तरण गर्न बाकी रहेको उनले बताए । पर्सा राष्ट्रिय निकुन्जमा मात्रै बाघको संख्या डेढ दर्जन छ । वन क्षेत्र संरक्षण तथा वृद्धीका लागि गरिएको प्रयासका कारण निकुन्जमा एक दशकमा बाघको संख्या उल्लेख्य बढेको छ । २००९÷१० मा भएको गणनामा निकुन्जमा ४ बयस्क बाघ थिए । २०१३ मा यो संख्या बढेर ७ पुगेको थियो ।
पर्सा, बारा र मकवानपुर गरी ६ सय २७ वर्गकिमि क्षेत्रफलमा निकुन्ज फैलिएको छ । निकुन्जसंग जोडिएको राष्ट्रिय, सामुदायिक तथा साझेदारी वन क्षेत्रमा निकुन्जबाट वन्यजन्तुले सहज आवागमन गर्छन् । यस्तै रौतहटमा भालु लगायत विभिन्न वन्यजन्तु क्यामेरा ट्र्यापिङ गरिएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले बताए ।

सम्बन्धित समाचार