लम्बिनी प्रदेशमा भारत सरकारको सहयोग निर्माण भएका दुई वटा विद्यालय भवनको उदघाटन

   १२ जेष्ठ २०८१, शनिबार १४:२५  

दाङ, १२ जेठ । लुम्बिनी प्रदेशमा भारत सरकारको सहयोगमा निर्माण भएका दुई वटा विद्यालय भवनको एक समारोहका बीच उदघाटन गरिएका छन् ।
नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको १.७६ करोड आर्थिक सहयोगमा निर्माण गरिएको दाङको लमही नगरपालिकामा बाल जनता माध्यमिक विद्यालय र सोही जिल्लाको घोराही उपमहानगरपालिकामा पदमोदय पब्लिक नमूना माध्यमिक विद्यालय भवन २.८७ करोड निर्माण सम्पन्न भएपछि दुबै विद्यालय भवनलाई उदघाटन गरिएका हुन् ।
बाल जनता माविको भवन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न बहादुर खत्री, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका मेयर जोगराज चौधरी र नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रूपमा उदघाटन गरेको काठमाडौं स्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी, पदमोदय पब्लिक नमुना माविको विद्यालय भवन जिल्ला समन्वय समितिका प्रमुख शर्मा, घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र भारतीय राजदूतावासका सचिव सिंहले संयुक्त रूपमा उदघाटन गरिएको जनाइएको हो ।
ती विद्यालयहरूलाई आवश्यक अन्य सुविधा सँगै प्रयोगशाला, प्रयोगशाला उपकरण, फर्निचर र दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको सामग्रीहरु रहेको छ । भारत सरकार र नेपाल सरकार बिच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, दाङमार्फत यी परियोजनाको कार्यान्वयन गरिएको दूतावासले जनाएको छ ।
सन् २००३ यता लुम्बिनी प्रदेशको विभिन्न क्षेत्रमा भारत सरकारका ६१ वटा परियोजना रहेका छन् । जसमा ६ वटा परियोजना दाङमा छन् । भारतले लुम्बिनी प्रदेशलाई १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ । त्यसमध्ये यसमा १९ वटा एम्बुलेन्स र पाँच वटा स्कुल बस दाङ जिल्लालाई उपलब्ध गराइएको दुतावासको विज्ञप्तीमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै