मापदण्ड विपरित संचालित आनन्द होस्पिटल र झोले डाक्टर माथि कारवाही कहिले होला ?

   १३ जेष्ठ २०८१, आईतवार ०७:३८  

शिवनगर (रौतहट), १३ जेठ । रौतहट जिल्लाको विभिन्न स्थानीय तहमा अनाधिकृत रुपमा मापदण्ड विपरित खोलिएका नीजि होस्पीटल तथा त्यसमा कार्यरत झोला छाप चिकित्सक विरुद्ध कारवाही किन गरिदैनन् ? आम मानिसको स्वास्थ्य संग खेलवाड गरिरहेका संग सेटिंगकै भरमा छुट दिने हविगतको कारण यहाँ आम विरामीहरु ठगिदै एवं लुटिदै आएका छन् ।
स्वास्थ्य जस्तो विषयमा स्थानीय प्रहरी प्रशासन अलिकति पनि सम्बेदनशिल भएको देखिदैनन् । चारै तिर सेटिंगको भरमा अराजकता नै अराजकता छाएको छ । के सेटिंगकै लागि यो व्यवस्था आएको हो ? मापदण्ड पुरा नगरी होस्पिटल संचालनमा ल्याएका संचालकहरु सेटिंग गरेर विरामीहरुको ढाँड सेक्दै रकम लुटिदै आएपनि सम्बध निकायको ध्यान किन गएको न होला ? तराई तप ले पटक पटक कलम चलाउदा केही व्यक्तिहरुको कमाउने बाटो खुलेको हो की जस्तो महसुस भईरहेको स्थानीयहरुले सम्बध निकाय माथि गम्भीर प्रश्न चिन्ह खडा गरेका हुन् ।
यसै क्रममा गरुडा नगरपालिकाको शिवनगरमा बर्षौ देखि संचालनमा रहेका आनन्द होस्पिटल प्रालीले पक्षाघात (लकवा) को सर्तिया उपचारको नाउँमा प्रत्येक विरामी संग एक देखि डेढ लाख रुपैया लुट्दै आएका छन् ।
मापदण्ड विपरित गैरकानुनी रुपमा संचालित आनन्द होस्पिटल 
नक्कल डाक्टर जयसवालको सक्कली अनुहार
आनन्द पोलिक्लीनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिएको तर नविकरण २०७६ फागुन १३ गते गरेको गरुडा
नगरपालिकाको रेकर्डमा देखिन्छ ।
आनन्द पोलिक्लीनिक एक्युपञ्चरको रेकर्डमा रहेपनि उक्त हस्पिटलमा पुग्दा आनन्द होस्पिटल प्राली नाम राखेर बर्षौ देखि संचालन गर्दै विरामीहरु संग रकम लुट्दै आएका छन् । बेड राख्ने प्रक्रिया पुरा नै नगरेर दर्जनौ बेड राखेर विरामीहरुको स्वास्थ्य संग खेलवाड गरिरहेका कथित नक्कली डाक्टर उमेश प्रसाद जयसवालको गोरखधन्धा दिनप्रतिदिन फस्टाउदै गएका हुन् । वेलाबखतमा सम्बध निकायलाई आर्थिक चलखेलको आधारमा अहिले सम्म विरामीलाई उपचार गर्ने निहुँमा लुट्दै आएको पीडितहरु बताउँछन् ।
केही एजेन्टहरु मार्फत पक्षाघात (लकवा) भएका विरामीहरुलाई उक्त हस्पिटलमा ल्याएर उपचार गरी ढाँड सेक्ने कार्य निर्वाध रुपमा जारी रहेको पाइएको छ । उक्त होस्पिटलका संचालक समेत रहेका कथित डाक्टर भनाउने जयसवालले विगत आठ बर्ष भन्दा बढि समय देखि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड विपरित गैरकानुनी रुपमा होस्पिटल संचालन गर्दै सम्बध निकायको आँखामा धुलो छर्दै आफ्नो गोरखधन्धा जारी राखेको हुँदा अविलम्ब त्यस्ता होस्पिटलहरु र संचालक माथि स्वास्थ्य ऐन अनुसार कारवाही गर्न स्थानीय बासिन्दाहरुले जोडदार रुपमा माग गरे ।
सामान्य औषधीमा चर्को रकम असुल्न खप्पीस रहेका नक्कली डाक्टर जयसवालले औषधी व्यवस्था विभाग, स्थानीय प्रहरी प्रशासन, स्थानीय तह लगायतका निकायहरुलाई लक्ष्मिकान्तको बलमा गोजीमै राखेको हुँदा यत्रो अन्याय गरिरहदा पनि सम्बध निकाय कानमा तेल हालेर मस्त निन्द्रामा सुतेको आरोप श्रोतले लगाए ।
नीजि होस्पिटल संचालन गर्नुपर्ने मापदण्ड
स्मरणीय छ की, कुनैपनि व्यक्ति वा चिकित्सकले नीजि क्षेत्रमा होस्पिटल संचालन गर्न लाग्दा नेपाल सरकारको स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागद्धारा निर्धारण गरिएको परिपत्र अनुसार २८ वटा बुंदामा लेखिएका अनुसारका पूर्वाधार लगायत स्वास्थ्य सम्बन्धी कार्यहरु पुरा गरेमा मात्रै नीजि होस्पिटल संचालन गर्न अनुमती दिने प्रावधान स्पष्ट रुपमा उल्लेख रहेको छ । तर गरुडा नगरपालिकाको शिवनगरमा संचालनमा रहेका आनन्द होस्पिटल प्राली गैरकानुनी रुपमा संचालनमा रहदा समेत सम्बध निकायबाट कारवाही नहुनु दुखद भएको स्थानीयहरुले गुनासो गरेका हुन् ।
नेपाल सरकारकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसार भौतिक पूर्वाधार सहितको वेल इक्युमेन्ट, दक्ष जनशक्ति भएपछि मात्रै नीजि क्षेत्रमा अस्पताल संचालनको लागि इजाजत दिइने गरिन्छ । त्यती मात्रै नभई बर्षभरीको मूल्याँकन फारमको आधारमा नविकरण गर्ने स्पष्ट प्रावधान रहेको भएपनि बिना इजाजत, इजाजत लिएपनि बर्षौ देखि नविकरण नगराएको, बेड राख्ने अनुमती नलिई बेड राखेको, बेड राख्न अनुमती लिएपनि त्यसभन्दा धेरै बेड राखेर उपचारको आडमा गरिव असहाय विरामीहरु संग अनावश्यक रुपमा रकम लुट्दै आएका छन् ।
यस्तालाई कारवाही कहिले होला ? कसले गर्ला ?
यतिखेर रौतहट जिल्लामा मापदण्ड विपरित संचालनमा रहेका नीजि क्षेत्रका होस्पिटलहरुले आम विरामीको स्वास्थ्य संग खेलवाड गरेर उसको आर्थिक अवस्था संग खेलवाड गरिरहेका होस्पिटल विरुद्ध कारवाही कहिले होला र कसले गर्ला स्थानीय बासिन्दाहरुले गम्भीर प्रश्न नेपाल सरकारको सम्बध निकाय संग प्रश्न गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै