रौतहट, १५ जेठ । राजस्व हिनामिना गरेको आरोपमा चन्द्रपुर नगरपालिकाको तत्कालिन नगरप्रमुख रामचन्द्र चौधरी सहित चार जनालाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ ।
विशेष अदालत काठमाडौंका न्यायाधिश टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालिन नगरप्रमुख चौधरी सहित चार जनालाई नै दोषी ठहर गर्दै बिगो, बिगोको दोब्बर जरिवाना र ४ वर्ष कैद गर्ने फैसला सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । चन्द्रपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख चौधरी सहितका आरोपीहरूले आंशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा अनियमित तवरबाट चाँदी नदीबाट नदीजन्य पदार्थ उत्खनन् गरी राजस्व छली गरेको ठहर गर्दै विशेष अदालत सजाय सुनाएको छ ।
विशेषले रामचन्द्र चौधरीलाई ३७ लाख ३४ हजार १ सय ९८ रुपैयाँ बिगो र त्यसको दोब्बर ७४ लाख ६९ हजार ३ सय ९६ को दामासाही बिगो बराबर जरिवाना हुने ठहर गरे । विशेषले उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार ४ वर्ष कैद हुने पनि भनेको छ ।
त्यस्तै रामविनोद राउत वरैलाई ४ वर्ष कैद र ३७ लाख ३४ हजार १ सय ९८ रुपैयाँ जरिवाना मात्र हुने फैसला सुनाए । अर्का प्रतिवादी कृष्णप्रसाद सिग्देललाई बिगो २८ लाख २२ हजार बिगो र ५६ लाख ४४ हजार ११ रुपैयाँ जरिवाना हुने र त्यसको दामासाही २८ लाख २२ हजार रुपैयाँ जरिवाना र ४ वर्ष कैद हुने फैसलामा उल्लेख छ ।
त्यस्तै अर्का प्रतिवादी रामविनोद राउतलाई ४ वर्ष कैद र २८ लाख २२ हजार बिगो र जरिवाना हुने फैसलामा उल्लेख छ । चाँदी नदीको नदीजन्य पदार्थ विक्री सम्बन्धी सम्झौता गर्दा तोकिएको नगद तथा बैंक ग्यारेन्टी पेश नगरी मूल्य अभिवृद्धि कर (भ्याट) समेत दाखिला नगरी सत्र लाख अठ्सठ्ठी हजार रुपैयाँ बराबरको घटी राजस्व रकम असुल गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा भनिएको थियो ।
आरोपीहरूले मापदण्ड विपरीत अवैध रूपमा ३७ लाख ३४ हजार रकम बराबरको नदीजन्य पदार्थ उत्खननन् गरी नगरपालिकालाई उक्त रकम बराबर राजस्वमा हानी पुर्याई ५५ लाख २ हजार बराबरको राजस्व चुहावट गरेको अख्तियारले दाबी गरेको थियो । अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देल, लेखा अधिकृत (राजस्व शाखा प्रमुख) कीर्तिराज सुवेदी, आंशिक कन्स्ट्रक्सनका सञ्चालक रामविनोद राउत बरैलाई ५५ लाख २ हजार २९८ रुपैयाँ र तत्कालीन नगर प्रमुख रामचन्द्र चौधरीलाई ३७ लाख ३४ हजार २९८ रुपैयाँ बराबर बिगो कायम गरी बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।
लेखा अधिकृत (राजस्व शाखा प्रमुख) कीर्तिराज सुवेदी सफाई पाएको छ ।