रौतहट, १५ जेठ । साक्षरताको दृष्टिकोर्णबाट अधिराज्यमै सबै भन्दा पछि परेका रौतहटको तिन वटा विद्यालय देशमै उत्कृष्ट विद्यालय बन्न सफल भएको सूचीमा परेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा सम्बन्धी तथ्यांकमा रौतहटका तिन सामुदायिक विद्यालय उत्कृष्ट भएको देखिएका हुन् ।
कम्तीमा एक सयभन्दा बढी विद्यार्थी सहभागी गराई तिस प्रतिशत भन्दा बढी विद्यार्थीले औसत स्तरीकृत अंक (जिपिए) ३.२ वा सो भन्दा माथि प्राप्त गर्ने सामुदायिक विद्यालय देशभरमा १५ वटा रहेकामा रौतहटका तिन विद्यालय परेका छन् । मन्त्रालयका अनुसार १५ विद्यालयमध्ये रौतहटका विद्यालय माथिल्लो दश भित्रै पर्न सफल भएको छ ।
अधिकाराज्यमै मावि गरुडाले तेस्रो स्थान प्राप्त गरेको छ । १८८ विद्यार्थी एसइइमा समावेश गराएको गरुडा नगरपालिका नगरपालिका वडा नम्वर ४ स्थित माध्यमिक विद्यालयले ६१.१४ प्रतिशत विद्यार्थीसहित देशमा तेस्रो स्थान हासिल गरेको हो । विद्यालयका प्रधानाध्यापक प्रभु राउत पटेलले विद्यालयमा शिक्षक विद्यार्थी अनुपात नमिलेको भए पनि शिक्षक विद्यार्थीहरुको परिश्रमका साथै आफ्नो योजनाबद्ध शैक्षिक योजनालाई कार्यरुप दिँदा विद्यालयले शैक्षिक उपलब्धि हासिल गरेको बताए ।
यसै गरी ४४१ विद्यार्थीलाई एसइइमा सहभागी गराउँदै जुद्ध मावि गौर ५२.८३ प्रतिशत विद्यार्थीसहित देशमा पाँचौँ तथा २४८ विद्यार्थीलाई एसइइमा सहभागी गराउँदै सरस्वती मावि पिपरा भलोहिया ४७.९८ प्रतिशत विद्यार्थीसहित देशमा सातौँ स्थान प्राप्त गर्न सफल भएको बताइएको छ ।
देशका १५ उत्कृष्ट विद्यालयमा मधेश प्रदेशको अन्य जिल्लाका कुनै पनि विद्यालय परेका छैनन् । तर रौतहट जिल्लालाई बदनाम गर्ने नियतबाट विभिन्न समयमा कुनै न कुनै आरोप लगाउने गरिन्छ । एसइइ को परिक्षा होस वा अन्य क्षेत्र मुलुकको हरेक स्थानबाट आएर आफनो कार्य सम्पन्न गरी यस जिल्लालाई बदनाम गराउने तत्वलाई शिक्षा क्षेत्रले देखाएको उत्कृष्ट कार्यबाट रौतहट जिल्ला शिक्षाको क्षेत्रमा पनि पछि नरहेको विज्ञहरु बताउँछन् ।