उपमेयर जयसवाल सहित बहुमत सदस्यद्धार नगरसभा बहिष्कार, मेयरको छोराले सम्पन्न गराए नगरसभा

   १७ आश्विन २०७८, आईतवार १६:५९  

तराई टप संवाददाता
रौतहट, १७ असोज । रौतहटको गरुडा नगरपालिकाको उपमेयर सहित बहुमत सदस्यहरुको विरोधका बिच पनि छैठो नगरसभा आईतवार सम्पन्न भएको छ ।
उपमेयर रंगीला देवी जयसवाल सहितको बहुसंख्यक सदस्यहरु विरोध जनाएपछि गरुडा नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृत महम्मद मुस्ताक आलमले नगरसभा स्थगित गरेको सूचना जारी गरेका थिए तर मेयर इन्नु राय यादवले अर्को सूचना जारी गर्दै आज नगरसभा गराएको हो ।
सम्पन्न भएको नगरसभामा कार्यपालिकाका ४६ जना सदस्यहरु मध्ये २६ जना सदस्यहरुले नगरसभाको विरोध गर्दै बहिस्कार गरे । नगरसभा संचालन हुनु भन्दा पहिले सम्पन्न हुनु पर्ने विभिन्न समितिहरुको बैठक नबसेको, बैठकबाट कुनै निर्णय नभएको र आवश्यक तयारी समेत नभएको अवस्थामा कसरी नगरसभा हुने भन्दै नगरसभाका सदस्य सचिव (निमित प्रमुख प्रशासकिय अधिकृत) ले नै नगरसभा स्थगित गरेकोमा मेयरका छोरा अनिल यादलले जबरजस्ती नगरसभा गराएको वडा नं ४ का अध्यक्ष चुनचुन प्रसाद साहले आरोप लगाए ।
“मेयरको छोरा अनिल यादव कार्यालय सहायक पदमा नगरपालिकामा नियुक्त भएको व्यक्तिले नगरपालिका चलाइरहेको छ ।” वडाअध्यक्ष साहले भने “मेयरका छोराले ६ करोड ६५ लाखको काम गरेको भन्दै करोडौ रुपैया अपचलन गरेको आरोप उनी माथि लागेको छ । मेयरको छोराले सडक बनाएको भनेका छन तर कुन सडक भनेर देखाउन सक्दैनन ।” उनले १४ करोड मध्ये ६ करोड ६५ लाख भ्रष्टाचार गरेको वडाअध्यक्षहरुको आरोप छ । यसैगरी कृषि तथा शिक्षामा पनि व्यापक भ्रष्टाचार भएको अधिकाँश सदस्यहरुले गम्भीर आरोप लगाए ।
स्थानिय तह सेवा संचालन तथा व्यवस्था सम्बन्धी आदेश २०७४ मा उपप्रखुलाई सम्बन्धित कार्यपालिकाको न्यायिक समितिको संयोजक, योजना अनुगमन मूल्याँकन समितिको संयोजक, राजश्व बाँडफाँड तथा परामर्श समितिको संयोजक, विकास बजेट सिलिंग गर्ने समितिको संयोजक लगायतका अधिकारहरु दिए पनि नगरपालिकामा सबैकाम मेयर आफैले गर्ने गरेको उपप्रमुख जयसवालको आरोप छ । नगरसभा बहिष्कार गरेको उपप्रमुखको समुहले सो सभालाई अमान्य गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत विभिन्न निकायमा पत्राचार गरेको छ ।
गरुडा नगरपालिकाका मेयर इन्नु राय यादवको नाममा उनका छोरा अनिल यादवले अहिले नगरपालिका चलाइरहेको स्थानियको आरोप छ । “मूर्ती” मेयरको रुपमा रहेका इन्नु यादवको सम्पूर्ण काम उनका छोरा अनिलले गर्दै आएको गरुडाका नेता कन्थमणी जयसवालले बताए । गरुडा नगरपालिकामा झण्डै आधा दर्जन व्यक्तिहरुको मेयरको रुपमा रहेको उनको आरोप छ ।
यता मेयरका छोरा अनिल यादवले भने नगरसभा नियमसंगत भएको र आफूलाई बुवाले पत्याएर जिम्मेवारी दिएकोले काम गरेको दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै