दलित समुदायकी एक किशोरीलाई उच्च शिक्षासम्म पढाउने जिम्मेवारी लिएर शिक्षा प्रेमी बख्रेल

   २० जेष्ठ २०८१, आईतवार २१:३९  

राधेश्याम कुशवाहा
सर्लाही, २० जेठ । सर्लाहीको दक्षिणी पश्चिमी भु–भागको सिमावर्ती क्षेत्रमा पर्ने बिष्णु गाउँपालिकाको एक दलित एवं विपन्न परिवारको किशोरीलाई उच्च शिक्षा सम्म अध्ययनका लागि एक मनकारी व्यक्तिले छात्रवृत्ति दिने घोषणा गरेको छ ।
आर्थिक अभावमा अध्ययनलाई निरंतरता दिन कठिनाई हुँदै आएको बिष्णु गाउँपालिका वडा नम्वर १ बाराउधोरण निवासी जिमदार रामको अन्दाजी १४ बर्षिया छोरी निगमा कुमारी रामलाई शिक्षाप्रेमी महेश बख्रेलले कक्षा १२ सम्म पढाईका लागि छात्रवृत्ति दिने घोषणा गर्दै जिम्मेवारी लिएको हो ।
नृत्य र पढाईमा अब्बल रहेकी किशोरी राम हाल बिष्णु गाउँपालिका वडा नम्वर ३ स्थित श्री जनता माध्यमिक विधालयको कक्षा ९ मा अध्ययनरत रहेकी छिन् । आर्थिक अवस्था निकै कमजोर रहेकी युवती सानैदेखि गोडैता नगरपालिका वडा नम्वर २ जयपुरमा रहेका मामा घरमा बसेर अध्ययन गर्दै आएकी छिन् ।
आज सामाजिक अभियन्ता शिवनाथ कहारको विशेष पहलमा शिक्षा प्रेमी बख्रेल युवतीको परिवारिक अवस्था बुझ्न र उहाँको परिवारसंग कुराकानी गर्न काठमाडौबाट सर्लाही आएका थिए । स्थानीय संचारकर्मी राधेश्याम कुशवाहा को अनुरोधमा दलित जेहेन्दार युवतीको छात्रवृत्तिको पहलका लागि जयपुर आएको सामाजिक अभियन्ता शिवनाथ कहारले बताए ।
आर्थिक अवस्था कमजोर रहेका कारण युवतीको कलिलो उमेरदेखि नै आमा पक्षको हजुरबाले पालनपोषण गर्दै आएको स्थानीय सुरेन्द्र महराले भने । सुरुमा मामा घरको स्थानीय विद्यालय सामाजिक सामुदायिक प्राथमिकमा भर्ना भएर पढदै आएका थिए । त्यसपछि हजुरबाबाले नातिनीको गाउँकै नजिक रहेका मधुवन गोठमा रहेको मावी विद्यालयमा अगाडीको पढाईका लागि भर्ना गराईदिए ।
अहिले त्यही विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै आएकी छिन । आर्थिक अभावमा किताब, कपी र कलम लगायत शैक्षिक  सामग्री समेत किन्न समस्या हुँदै आएको स्थानीय महराको भनाई छ । बुबा लागुऔषध दुव्र्यवसनी रहेका कारण किशोरीको आमाले अरुको खेतबारी र घरमा मजुदुरी गर्दै जसोतसो परिवार चलाउदै आएको छ ।
गाउँमा समेत सुकुम्बासी रहेको र फुसको घरमा हावाहुरीले भत्काइदिएको कारण सबै परिवारलाई माईती घरमा बस्नुको विकल्प नरहेको युवतीको आमा मन्जु देवीले दुखेसो पोखिन ।
आफनो २ वटा बुहारी सहित दर्जनौं नातिनातिना रहेका कारण आफनो परिवार चलाउन समस्या हुँदै आएको गोडैता–२ जयपुर निवासी युवतीको हजुरबा बिगु रामले बताए । त्यसमा छोरीको आर्थिक कमजोर र ज्वाईं लागुऔषधमा लागेको कारण छोरी सहित उनीहरुको बालबच्चा समेत हामीलाई नै पाल्नुपर्ने बाध्यता रहदै आएको बताइन् ।
नातिनी निगमा उच्च शिक्षा पढेर ठूलो मान्छे बन्न चाहनछिन् तर उसलाई पालन पोषण गर्नुनै समस्या छ, अगाडि पढाईको खर्चका लागि हामी असमर्थ छौ, तर तपाईंहरु आएर शैक्षिक सामग्री र पठनपाठनमा सहयोग गर्ने आश्वासन दिएपछि नयाँ आश जागेको र आफनो तर्फबाट समेत घरमा पढाईको वातावरण निर्माणका लागि कुनै कसर बाकी नराख्ने बताए ।
किताब, कोपी सहित अन्य सहयोगी किताब किन्न समस्या हुँदै आएको र साईकल बिग्रेका कारण समेत ३ किलोमिटर टाढाको विद्यालय पैदल जानुपर्ने बाध्यता रहिआएको युवतीले निगमा कुमारी रामले बताईन । कोचिङ गर्न मन भएपनी फिस तिर्न नसकेको कारण पढन नपाएको र पढाईका शैक्षिक सामग्री सहित अन्य सहयोग प्राप्त भैइरहयो भने आफू मन लगाएर पढने युवती निगमाले विश्वास दिलाईन ।
यता, छात्रवृत्ति पाएका युवतीले अन्य दलित तथा विपन्न बालबालिका लागि रोलमोडेल बन्नु पर्ने सामाजिक अभियन्ता शिवनाथ कहार बताउँछन । धेरै दलित बालबालिका छन, जसले आर्थिक अभावमा विद्यालय अध्ययनलाई निरंन्तरता दिन सकिरहेका हुदैनन् । हामीले सबैलाई त सहयोग गर्न सक्दैनौं, केही सिमित बालबालिकालाई सहयोग गर्छौ, उनले भने । उनीहरुबाट अरुले पनि पाठ सिकोस ।
सहयोग पाएर पनि उच्च शिक्षा अध्ययन गर्न सकुन युवतीले समाजमा उदाहरणिय काम गरेर अरुलाई प्रेरित गरून् र आफू जस्तो आर्थिक अभावमा पढाईलाई निरन्तरता दिन नसकेका प्रतिभा भएका बालबालिकाको पढाईमा सहयोग गर्नुपर्ने उनको भनाई थियो ।
शिक्षाको न्यानो ज्योतीबाट कुनै पनि बालबालिका बञ्चित हुनु नपरोस भन्ने भनाइ लाई  आजको अवस्थामा हामी सबैले आत्मसाथ गर्दै सोही अनुसार आफ्नो तर्फबाट गुणस्तरीय शिक्षा प्राप्ति गर्न पाउने बालबालिकाको नैसर्गिक अधिकारमा थोरै भएपनी टेवा पुर्याउन सर्लाही जिल्लाको विष्णु गाउपालिकाको श्री जनता मावी मधुवन गोठ विद्यालयको कक्षा ९ मा अध्ययनरत जेहेन्दार छात्रा निगमा कुमारी राम लाई छात्रवृत्ति दिएको शिक्षाप्रेमी महेश बख्रेलले खुशी व्यक्त गरे ।
अध्ययन गर्न पारिवारिक आर्थिक असहजता भएकोमा निगमाको अध्ययन प्रतिको लगावलाई सहजीकरण गर्नका लागि शैक्षिक सामाग्री, विद्यालय पोशाक, विद्यालयमा लाग्ने शुल्क ब्यहोर्ने गरी कक्षा १२ सम्म अध्ययन गराउने जिम्मेवारी पारिवारिक सहमती तथा अन्य सरोकारवालाहरु संगको समन्वयमा लिने प्रतिवद्धता समेत जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै