वृन्दावनमा उत्खनन गरिरहेका एक्जाभेटर र ट्रेक्टर तोडफोड

   २७ जेष्ठ २०८१, आईतवार १९:४६  

रौतहट, २७ जेठ । निर्वाचित वडाध्यक्ष सहितका स्थानीयहरुले वृन्दावन नगरपालिका स्थित वागमती नदीबाट नदीजन्य पदार्थ उत्खनन गरिरहेका एक्जाभेटरमा क्षति पुर्याउदै ट्रेक्टरमा तोडफोड गराइएका छन् ।
आईतवार अपरान्ह् ४ बजेको समयमा वडा नम्वर २ का वडाध्यक्ष सिकिन्द्र पटेल र वडा नम्वर ४ का अध्यक्ष श्याम यादवले स्थानीय बासिन्दाहरुलाई उचालेर बागमती नदीमा उत्खनन गरिरहेका एक्जाभेटर माथि आक्रमण गर्दै तोडफोड गरेर क्षति पुर्याएका हुन् । त्यती मात्रै नभई एक्जाभेटरको इन्जन भित्र बालुवा हालिदिएको आरोप लगाइएको छ ।
उक्त स्थानमा उत्खनन भएका बालुवा गिटी लोड गर्न खडा रहेका तिन वटा ट्रेक्टरमा क्षति पुर्याउदै दुई वटा ट्रेक्टरको साँचो खोसेर भागेको श्रोतले दाबी गरेका छन् । प्रतिउत्तरमा स्थानीय बासिन्दाहरुले एक्जाभेटर माथि तोडफोड गर्नेहरुलाई लखेटेर वागमती नदी पारी सर्लाही पुर्याइदिएको ति श्रोतले बतायो ।
आक्रोशित रहेका अर्को पक्षका मानिसहरु बलेरीखोरमा वडाध्यक्ष श्याम यादवले संचालन गरेको राँगा भैंसी फर्ममा आगजनी गरिदिएको छ ।
किन यस्तो अवस्था आयो वृन्दावनमा ?
वृन्दावन नगरपालिकाले गत असोज महिना देखि तिन पटक नदीजन्य पदार्थको उत्खननको लागि बोलपत्र आह्वान गर्दा समेत कुनैपनि बोलपत्र दर्ता नभएपछि बोलपत्रलाई रिभाईज गर्नुपर्ने मुल समस्या आएपछि प्रमुख प्रशासकीय अधिकृतको निरन्तर सरुवाबाट काम हुन पाएनन् । यता नगरपालिकाको आन्तरिक आयश्रोत समेत खेर गईरहदा जेठ ५ गते नगरपालिकाले अमानतमा उठाउने निर्णय गर्दै स्थानय व्यवसायीलाई २० दिनको लागि २८ लाखमा ठेक्का लगाएपछि लडाई सुरु भएको ति श्रोतले बतायो ।
वडा नम्वर २ र ४ का वडाध्यक्ष गिटीबालुवाको कारोवारी रहेको तर तिनले ठेक्का नपाउदा यस्तो लफडा सुरु गराए । सोही क्रममा मेयर विनोद प्रसाद कुर्मीको सवारीसाधन माथि समेत आक्रमण गरियो । अवस्थालाई सामन्य पार्न पटक पटक उक्त स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिदा समेत समस्या जस को तस नै रहेका छन् ।
नगरप्रमुख कुर्मीले काँग्रेस र माओवादीहरुले यहाँको विकास निर्माणमा पूर्ण रुपमा बाधक बनेको गम्भीर आरोप लगाउदै पाँच बर्ष सम्म अरु कसरी यहाँको मेयर बन्छ, आउनुस बस्नुस, मिलेर छलफल गरेर समस्या समाधान गरौं तर उनीहरु बलमिचाई गरेर यस्तो अवस्था सृजना गरेको उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै