तराई टप संवाददाता
रौतहट, १९ असोज । खोला, पोखरी एवं खाल्डाखुल्डीमा डुवेर एक बर्षमा २७ जना बालबालिका सहित पुरुष महिलाहरुले रौतहटमा ज्यान गुमाउनु परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याँकमा उल्लेख भए अनुसार १२ बालक, १० बालिका गरी २७ जनाको पानीमा डुबेर मृत्यु भएको हो । खास गरी घरबाट बाख्रा एवं पशु चौपायालाई चरण गराउन गएको वेला गर्मीको कारण खोला, पोखरी एवं विभिन्न जलाशय भएको खाल्डा खुल्डीमा नुहाउने क्रममा ति बालबालिका एवं पुरुष व्यक्तिहरु मृत्युको शिकार हुनु परेको प्रहरीले जनाएका छन् ।
असोज १० गते रौतहटको राजदेवी नगरपालिका ९ ब्रम्हपुरी गाउँ नजिक वागमती नदीमा माछा मार्न गएका ४ जना मध्ये १० बर्षिय अवित रामको डुवेर दुखद मृत्यु भएको थियो । असोज १७ गते चादी नदीले बगाउदा चन्द्रपुरको एक किशोरको ज्यान गए । आजै विहान माधव नारायण नगरपालिका ६ माधोपुरका गंगाराम बैठा मलामी वागमती नदीमा गएको वेला नुहाउने क्रममा डुवेर वेपत्ता भए ।
पोखरी, इटाभट्टाको खाडल, सडक निर्माण गर्दा दुवै साइडमा खनिएको खाडल, बालुवा गिट्टी निकालेको खाडल तथा नदिमा नुहाउने क्रममा डुवेर तथा बगेर मानिसको ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमोरियाले जानकारी दिए ।
गत आव २०७७÷७८ मा प्रदेश २ मा ८६ जनाको डुबेर मृत्यु भए । जसमा ३८ बालक र २१ बालिका गरी ५९ जना बालबालिको ज्यान गएको छ । यो अवधिमा १७ जना पुरुष र १० जना महिलाले पनि ज्यान गुमाएका छन् ।