भरत ताल निर्माणमा करोडौं अनियमितता गर्ने मेयर थापा सहित ६ जना विरुद्ध विशेषमा मुद्दा दायर

   २९ जेष्ठ २०८१, मंगलवार १७:००  

फाईल तस्वीर

सर्लाही, २९ जेठ । नेपालमै मानव निर्मित सबैभन्दा ठूलो भरत ताल उत्खननमा करोडौं अनियमितता गरेको आरोपमा वागमती नगरपालिकाको निलम्बित मेयर भरतबहादुर थापा विरुद्ध अर्को भ्रष्टाचारको मुद्दा दर्ता भएका छन् ।
वागमती नगरपालिका वडा नम्वर ४ र १२ रहेको भरत तालको निर्माण एवं उत्खनन गर्दा ३० करोड २९ लाख रुपैया अनियमितता गरेको आरोप लगाउदै निलम्बित मेयर थापा सहित ६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालतमा मुद्दा दर्ता गराएका हुन् ।
मधेश प्रदेश मात्रै नभई नेपालमै मानव निर्मित तालमा सबैभन्दा ठूलो तालको रुपमा रहेका भरत तालमा अहिले आन्तरिक पर्यटकहरुको घुइचो लागेपनि निर्माणको क्रममा ३० करोड भन्दा बढि रकम अनियमितता गर्नेमा निलम्बित मेयर थापा सहित उपमेयर लिलाकुमारी मुक्तान विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
अख्तियारले मोक्तानलाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने माग गरेको छ । अख्तियारले नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई कैद र जरिवाना गर्नुपर्ने भनेर मागदाबी गरिएको छ ।
यसअघि चैत २८ गते अख्तियार दुरुपयोग अुनसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले आर्जन गरेको दाबी गर्दै मेयर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यही समय देखि मेयर निलम्बित रहेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै