नेदरल्यान्ड्सलाई हराउदै बंगलादेश सुपर ८ को नजिक

34 Shares
किंग्सटाउन, एजेन्सी । टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेका बंगलादेशले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स निर्धारित २० ओभरमा ८ विकेटको गुमाउदै १३४ रनमात्र सिमित भई हार बेहोर्न बाध्य भएको हो । यो जित संगै बंगलादेश सुपर ८ को नजिक पुगेका छन् ।
समूह डी मा बंगलादेशको यो दोस्रो जित हो । ३ खेलबाट ४ अंक बटुलेको छ । नेदरल्यान्ड्स भने २ अङ्कमा सीमित रहेको छ ।
समूह डी बाट ३ खेलमा ६ अंक बटुल्दै दक्षिण अफ्रिकाले यसअघि नै अर्को चरणमा स्थान बनाइसकेको छ । यही समूहमा नेपाल पनि रहेको छ । २ खेलबाट नेपालको एक अङ्क छ । ३ खेल खेलेको श्रीलंकाको पनि एक अङ्क मात्र रहेको छ ।
नेदरल्यान्ड्सका लागि साइब्रान्ड एन्जलबर्चले सर्वाधिक ३३ रन जोडे । २२ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे ।
विक्रमजित सिंहले १६ बलमा २६ रन बनाए । उनले ३ छक्का प्रहार गरे । त्यस्तै, कप्तान स्कट एडवड्र्सले २३ बलमा २५ रनको योगदान दिए ।
ओपनर माइकल लेभिटले १८ रन, आर्यन दत्तले १५ रन तथा म्याक्स ओ डाउडले १२ रन बनाए । बंगलादेशका लागि रिसाद होसेनले ३ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले ३३ रन खर्चिए ।
वंगलादेशका लागि शाकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । उनले ४६ बलमा नटआउट रहँदै ६४ रन जोडे । यस क्रममा उनले ९ चौका प्रहार गरे ।
ओपनर तान्जिद हसनले २६ बलमा ३५ रनको योगदान दिए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।

सम्बन्धित समाचार