रौतहट, १ असार । नेपाल भारतको सीमा क्षेत्रमा रहेका गाउँका बासिन्दाहरु संग असल सम्बन्ध राख्न तथा विभिन्न सकारात्मक कार्यमा सहकार्य सम्बादको माध्यमबाट अघि बढ्ने उद्देश्यबाट विगत केही समय देखि सीमाबासीहरु संग सशस्त्र प्रहरीले विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम गर्दै आएका छन् ।
रौतहटको बौधीमाई नगरपालिका वडा नम्वर ७ बंकुल स्थित सानो सीमा स्तम्भ नम्वर ३५५÷७ छेउमा रहेको आपको बगैचामा भेला भएका स्थानीय बासिन्दाहरु संग सशस्त्र सीमा सुरक्षा बल नेपाल नम्वर ११ गणद्धारा “सीमाबासी संग सशस्त्र प्रहरीको अन्तरक्रिया” शनिवार सम्पन्न गरेका हुन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाई, विशिष्ट अतिथिमा बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदीपकुमार यादव, सीमा सहजीकरण समितिका संयोजक तथा सदस्यहरु, सीमा संग जोडिएका वडा नम्वर ७ का वडाध्यक्ष, परोहा नपा ७ र ८ का वडाध्यक्ष तथा संयोजकहरु, संचारकर्मीहरु स्थानीय भद्रभलादमीहरु, शिक्षक, स्थानीय बासिन्दाहरु लगायत सशस्त्र प्रहरीको उपस्थिति रहेको सशस्त्र सीमा सुरक्षा बल नेपाल नम्वर ११ गण रौतहटले जनाएको छ ।
“सीमाबासीसंग सशस्त्र प्रहरीको अन्तरक्रिया” कार्यक्रममा सीमा क्षेत्रका बासिन्दाहरुलाई आईपर्ने विवाह, ब्रतबन्ध, चाडपर्व तथा अन्य धार्मिक कार्यक्रमको लागि सीमापारी भारतीय बजारबाट ल्याइने घरायसी सामान ल्याउन निकै कठिनाई भईरहदा त्यसलाई सहजीकरण गर्न स्थानीयहरुले माग राखे । सीमाबासीलाई घरयासी सामान लगायत कृषिजन्य बिउ बिजन र मलखाद्य ल्याउदा बेहोर्नु परेको हैरानी तथा झन्झटिलो अवस्थाको सामना गर्नु परेको बताए ।
छोटी भन्सार कार्यालय संचालन नहुँदा स्थानीयहरुले बेहोर्नु परेको समस्या, भारतीय एसएसबी ले आवत जावतको समयमा सीमाबासीसँग गर्ने व्यवहार, सीमासँग पालिका जोडिएका स्थानीयबासीहरुले आफूले उत्पादन गरेका कृषि लगायतका अन्य सामाग्रीहरु जिल्लाभित्र एक स्थानबाट अर्को स्थानमा लैजादा सामाजिक संञ्जालको दुरुपयोग गर्दै फोटो भिडियो बनाई समाचार प्रकाशन, सीमा तथा दशगजा नजिक रहेका मदिरा पसलहरु संचालन गर्ने समय सम्बन्धमा, सीमा नाकाबाट आवत जावत हुने भारतीय सवारी साधनको (विषेश गरी मोटरसाईकल) ब्यबस्थापन, हुन सक्ने अन्तर सीमापार अपराध लगायतका विविध विषयहरुमा विस्तृत छलफल तथा अन्तरक्रिया भएको ११ नम्वर गणबाट बुझिएको छ ।
साथै बर्षाको समयमा हुन सक्ने बाढी÷डुवानबाट हुन सक्ने क्षतिको रोकथाम तथा न्यूनिकरणको लागि स्थानीय तहको तयारीको सम्बन्धमा समेत अन्तरक्रिया कार्यक्रममा छलफल गरियो । अन्तरक्रिया कार्यक्रममा उठेका समसामयिक बिषयमा नगर प्रमुख प्रदिप कुमार यादवले आफू सम्बद्ध विषयहरुमा सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षामा भुमिका र महत्वको सराहना गर्दै सीमा क्षेत्रका समस्यालाई सशस्त्र प्रहरीले बुझिदिन आग्रह गरे ।
सीमाबासीले उठाएका गुनासा, समस्या तथा जिज्ञासाहरुलाई सशस्त्र प्रहरी ११ नम्वर गणका गणपति एवं एसपी विक्रम होमागाईले समस्याको समाधानको उपाय अवलम्बन गर्दै सशस्त्र प्रहरी सीमावासीलाई सहज रुपमा सेवा सुविधा प्रदान गरेर सीमा क्षेत्रबाट हुँदै आएको राजस्व छलीका कार्यहरुलाई पूर्ण रुपमा नियन्त्रण गर्ने र उक्त कार्यमा स्थानीय बासीहरुको सकारात्मक सहयोग विना सम्भव नरहेको बताए । विभिन्न समयमा हुने विवाह, धार्मिक अनुष्ठानको साथै दैनिक उपभोग्यका घरायसी सामान ल्याउन आम मानिसलाई रोकिएको छैन तर तस्कारी गर्नेहरु माथि सशस्त्र प्रहरीले निगरानी राखिरहेको हुँदा तस्करी कार्यलाई नियन्त्रण गराउनमा तपाईहरुको भुमिका महत्वपूर्ण हुने आवश्यक्ता महसुस गरे ।